RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

व्यावसायिक सीप तालिम निर्देशिका तयारी सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को सहयोगमा म्याङ्ग्लुङ् नगरपालिका तेह्रथुममा स्थानीय सरकारले नतिजामा आधारित भुक्तानी प्रणाली अबलम्बन गरी व्यावसायिक सीप विकास तालिम संचालन गर्न आवश्यक निर्देशिका तयारी सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मिति २०८० जेष्ठ २९ गते नगरपालिकाको सभाहलमा सम्पन्न सो गोष्ठीमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, रोजगार, कृषि र सामाजिक विकास शाखाका प्रमुख सहित घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ साथै विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगरप्रमुख संजय कुमार तुम्वाहाङ्फेको अध्यक्षतामा संचालित सो गोष्ठीको सुरुवातमा समृद्धि/हेल्भेटास नेपालका क्षेत्रीय अनुगमन अधिकृत राजकुमार सेतिमहरले कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याउनु भएको थियो ।

समृद्धि/हेल्भेटास नेपालका शुसासन तथा शान्ति कार्यक्रम संयोजक बद्री मानन्धरले संघीयता र प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीमा स्थानीय सरकारको भूमिकावारे प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसपश्चात् कार्यक्रममा परामर्शदाता डा. रोजी जोशी र उहाँको समुहद्वारा नतिजामा आधारित भुक्तानी प्रक्रिया साथै व्यावसायिक सीप विकास तालिम कार्यान्वयन तथा अनुगमन मार्गनिर्देशिका बारे छलफल तथा पृष्ठपोषण सत्र संचालन गरी कार्यक्रमको संक्षेप तथा कार्ययोजना निर्माण गरिएको थियो ।

गोष्ठीको मुख्य उद्देश्य नतिजामा आधारित भुक्तानी प्रणालीबारे स्थानीय सरकारको क्षमता अभिवृद्धि गराउने रहेको थियो । साथै सो प्रणाली अवलम्बन गरी स्थानीय बेरोजगार युवाहरुलाई स्थानीय मागकै आधारमा विभिन्न सीप प्रदान गरी रोजगारीको सुनिश्चितता सहित संचालन गरिने छोटो अवधिका व्यावसायिक सीप तालिमलाई स्थानीय सरकारको आगामी नीति तथा कार्यक्रमहरुमा दिर्घकालिन ढाँचा तयार गरी संस्थागत गराउनका लागि तालिम र नतिजाको नियमित तथा प्रभावकारी अनुगमन प्रणाली सहितको कार्यविधि निर्माण गर्ने उद्देश्य रहेको छ ।

अन्त्यमा नगरप्रमुख संजय कुमार तुम्वाहाङ्फेले हाल समृद्धि आयोजनासँगको लागत साझेदारीमा १५ विभिन्न पेशाहरुमा ३०० जनाको तालिम संचालन भइरहेको जानकारी दिँदै यसअघि पनि सीपमूलक तालिमहरु संचालन हुनेगरेको भएपनि यस साझेदारी कार्यक्रममा रहेको नतिजामा आधारित भुक्तानी प्रणाली, नियमित तथा प्रभावकारी अनुगमन, राष्ट्रिय सीप परीक्षण बोर्डले परीक्षा लिएरमात्र  प्रमाणपत्र दिने लगायतका सुन्दर पक्षहरुबाट आफू प्रभावित रहेको र चाँडो भन्दा चाँडो यस सम्बन्धी कार्यविधि पारित गरी नगरका बेरोजगार युवायुवतीहरुलाई आम्दानीमा जोड्न आगामी तालिमहरु संचालन गर्न उत्साहित रहेको बताउँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020