RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

अब फेरी वैदेशिक रोजगारमा किन जानु पर्यो र ?

सर्लाही जिल्ला लालबन्दी नगरपालिका प्रगति टोलका २९ वर्षीय बालकृष्ण चौलागाई एस एल सी सम्मको अध्ययन पछि आफ्नो पढाइ स्थगन गर्न वाध्य भए । “मलाई एसएलसी पछि अध्ययन गर्ने इच्छा नभएको होइन तर घरको आर्थिक अवस्थाले साथ नदिएपछि  अगाडि  पढ्न सम्भव भएन ” उनी  भन्छन । परिवारमा  दरिलो आम्दानीको श्रोत नभएकाले उनले वैदेशिक रोजगारीमा जाने निधो गरे । त्यसको लागि पासपोर्ट लगायत आवश्यक कागजातहरुको तयारी गरी केही रकमको बन्दोबस्त भए पश्चात ई.सं. २०१७ मा मलेशिया उडे । मलेशियामा एउटा स्टील कम्पनीमा काम पाए र २ बर्ष निकै कठिन संघर्ष गरे । उनले कम्पनीमा अदक्ष कामदारको रुपमा काम गर्नु पर्दाको दुःख अझै बिर्सेका छैनन । त्यहाँ कडा परिश्रम गरेर पनि ज्याला धेरै कम पाइन्थ्यो । त्यसैले २ बर्षपछि उनी स्वदेशमै फर्किए ।

स्वदेश फर्किसकेपछि १ बर्ष कामको खोजीमै बिताए । कामको खोजी मै भएका बेला उनले राष्ट्रिय साप्ताहिक खबरपत्रिका चियोचर्चोको २०७६ साल बैशाख २ गतेको अंकमा लालबन्दीमा हुने विल्डिङ्ग इलेक्ट्रिशियन तालिम लिन इच्छुक तथा वेरोजगार युवाहरुलाई आवेदन दिन आह्वान गरेको विज्ञापन देखे । त्यो विज्ञापन पढेपछि बालकृष्णले  आफ्नै गाँउको एकजना साथीले मलेशियामा  हाउस वायरिङ्गको काम गरेर राम्रो आम्दानी गरिरहेको देखेको सम्झे ।  उनले गाँउका जान्नेसुन्ने साथीहरुबाट  पनि प्राविधिक तालिमको माध्यमबाट  स्वदेश तथा विदेशमा  राम्रो आर्जन गर्ने मौका पाइन्छ भन्ने सुनेका थिए । यी देखेका अनि सुनेका कुराहरुको प्रभावले होला उनलाई उक्त तालिममा सहभागी हुन पाए हुन्थ्यो लाग्यो । उनले तालिमका लागि आवेदन दिए । छनौटका प्रकृयाबाट छानिए पनि । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईफाड) को आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी पोलिटेक्निक इन्ष्टिच्युटद्वारा स्थानीय सरकारसँगको समन्वयमा  उक्त तालिम २०७६ साल जेठ २ गतेदेखि लालबन्दी बजारमा सुरु भयो ।

उनी तालिममा नियमित रुपमा सहभागी हुदै प्रशिक्षकहरुले सिकाएको हरेक गतिविधिमा सक्रिय भएर भाग लिन थाले । “तालिममा सैद्धान्तिक र प्रयोगात्मक कक्षा सँगसँगै संचालन गरी सिकाउने भएकोले थोरै समयमा आधारभूत र महत्वपूर्ण कुराहरुको राम्रो सिकाइ भयो” उनी तालिम सम्झदै भन्छन ।

२०७६ साल साउन १५ गते तालिम पूरा गरिसकेपछि बालकृष्णले लालबन्दी बजार आसपासमा हाउस वायरिङ्गको काम सुरु गरिहाले । सुरुमा दैनिक सरदर रु. ७०० आम्दानी हुन्थ्यो । पछि उनको आम्दानी बढ्दै गयो । आफ्नो  आम्दानीबाटै  उनले लालबन्दीमा एउटा  घडेरी पनि जोडिसकेका छन् । उनी हास्दै भन्छन,  “म यो पेसामा लागेर आफ्नै गाँउघरमा नै राम्रो कमाइ गरिरहेको छु । अब मैले वैदेशिक रोजगारीमा जाने त कुरै आउदैन होइन र ?

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020