RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

एक्लै होइन जुटेरै अघि बढ्छौँ

खोटाङ्, दिक्तेल वडा नं. १४ को उर्लेनी गाँउमा अहिले सेता टनेलहरु जताततै देख्न सकिन्छ । विहान बेलुका तरकारीको जोहो गर्न मात्र तरकारी खेति गर्ने यहाँका किसानहरु केही वर्षदेखि एकजुट भएर  व्यवसायिक खेतिमा लागेका छन् । वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरुको अगुवाईमा ३२ जना कृषकहरु मिलेर २०७५ सालमा उर्वरा तरकारी उत्पादन समुह गठन गरे । स्थानीय स्तरमा टमाटर र वेमौसमी तरकारीको प्रचुर माग देखेर व्यक्तिगत लगानीमा खेतिहरु गर्न थाले । तर प्राविधिक ज्ञान नभएकाले उत्पादन खासै राम्रो भएन । यसै क्रममा समृद्धि आयोजनासँग समुह आवद्ध भयो र आयोजनाको प्राविधिक तथा वित्तीय सहयोगले उत्पादनमा क्रमिक सुधार हुन थाल्यो । 
सबैले तरकारी उत्पादन गरे पनि बजारको अस्वस्थ प्रतिस्पर्धाका कारण उचित मुल्य पाएका थिएनन् । आफू आफूमा कस्ले सस्तोमा बेच्ने भन्नेमा प्रतिस्पर्धा हुन्थ्यो । एउटाले भन्दा अर्कोले आधा कम मुल्य मै बेच्ने । यसैक्रममा आयोजनाको सहजीकरणमा सामुहिक खेति र बजारीकरणको संभावनाबारे छलफल भयो । एकआपसमा जुटेर गर्ने सहमति अनुसार पानी तथा तरकारी उत्पादनको संभावना भएको पाँच टोललाई समेटेर क्लष्टर बनाइ सामुहिक उत्पादन गर्न थाले । एक क्लष्टर बरावर १०० रोपनी जतिमा खेति गरेका छन् । डाँडाबाट देखिने ४१५ वटा सेता टनेलहरुले रमणीय गाउँलाई झनै सुन्दर बनाएको छ । व्यवसायका लागि सामुहिक खेति हो भने व्यक्तिगत प्रयोजनका लागि घरघरमा पनि तरकारी फलाउछन् । नजिकैको पञ्चेडाँडामा तरकारी संकलन गरिन्छ । व्यापारीहरु कुमार आचार्य दैवराम राई र बाबुकाजी कार्कीले त्यहाँबाट दिक्तेल, अर्खौले, ऐसेलुखर्क, पञ्चेडाँडा, हलेसीमा तरकारी बेच्छन् । 
बाख्राको मल मात्र प्रयोग परम्परागत रुपमा गर्ने खेति भन्दा अहिले घोल मल, आफैले बनाएको प्राङ्गारिक प्रयोग गर्दा उत्पादकत्व बढेको छ । हरेक महिनाको पाँच गते समुहको वैठक बस्छ । सामुहिक सवाल र आय व्ययमा छलफल हुन्छ । उत्पादनका लागि रोलक्रम अनुसार श्रम गरिन्छ । हाल दैनिक ५०० केजी भन्दा बढी उत्पादन हुन्छ । सामुहिक खेतिलाई नगरपालिकाले अपनत्व लिएको छ । समुहले तराईमा १० धुर जग्गा जोडेको छ । आम्दानीको पाँच प्रतिशत हितकोषमा राखेको बाहेक नियमित बचत पनि गरेका छन् । हालसम्म चार लाख बचत भएको छ । जसले किसान पेन्सनको व्यवस्था गर्ने योजना छ । योजना बनाएर मात्र खेति गर्ने उनीहरु चाँडै उत्पादन समिति, बजार समिति पनि गठन गरी समुह व्यवस्थापमा जोड दिने योजनामा छन् । फजुल खर्च कटौति गरी आयव्यव व्यवस्थित गर्न हरेक घरमा खाता राखेको छन् । समुहका अध्यक्ष छत्रमानले भने, “साझेकी बाझे भन्छन् तर हामी मिलेरै अघि बढ्छौँ । गाँउमा विदेशबाट फर्केर आउँने हरेकलाई यहीँ रोक्ने आधार तयार गर्छौँ” । 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020