समृद्धि पुरक अनुदानले गृहणी महिलालाई उदाहरणीय गाईपालन व्यावसायि बनायो
महालक्ष्मी नगरपालिका वडा.नं.९, धनकुटा बस्ने ३० वर्षीया पवित्रा काफ्ले केही वर्ष अगाडि सम्म एउटी गृहिणी थिईन् । उनको परिवारमा सासु, श्रीमान् दुई छोरा र एक छोरी गरी जम्मा छ जनाको परिवार छ । नौं कक्षा सम्म मात्र पढेकी पवित्रा मध्यम वर्गीय परिवारमा हुर्किएकी हुन् । विवाह पछि थप जिम्मेवारी थपियो─ ग्रामीण परिवेशको जीवन शैलि भएकोले चुलो-चौको, घाँस दाउरा र मेला पातमा सिमित भयो । उनका पतिले खेति किसानी सँगै सानो किराना पसल सञ्चालन गर्दथे । ‘पारिवारिक अवस्था न्यून भएपछि समाजले हेर्ने दृष्टिकोण पनि फरक पर्दो रहेछ’ उनी भन्छिन् । बर्ष भरी एकलाख पनि कमाई नहुने । जग्गाको नाममा भएको १० रोपनी बारीमा परम्परागत खेतिबाट आएको थोरै आम्दानीले छोरा छोरीको पढाइ खर्च धान्न मुस्किल भएपछि उनीहरुले गाईपालनलाई व्यवसायिक बनाउने निधो गरे । आफूसँग भएको एक लाख पचास हजार, सहकारीबाट एक लाख र कावेली विकास वैङ्कबाट पाँच लाख कर्जा गरी सात लाख पचास हजार लगानीमा सामान्य पूर्वाधार तयार गरी पाँचवटा गाईबाट व्यवसाय सुरुवात भयो ।
सुरुमा दुईवटा गाई मात्र दुहुना थिए । तिनले दिनको १२ लिटर दुध दिन्थे । बजारको कुनै समस्या थिएन तर महिनामा नौ हजार मात्र आम्दानी हुन्थ्यो । जसले ऋण तिर्ने त कुरै छैन घर र्खच धान्न समेत धौ धौ हुन्थ्यो । तर पनि सकारात्मक विचार राख्ने दृढ स्वभावकी पवित्राले हिम्मत हारिनन् । उनि भन्छिन्, “मानिसको जिवन सुख र दुःखको समिश्रण हो, सुख दुःख भनेको घाम छायाँ जस्तै हो । जुनसुकै समस्यासँग पनि हारेर हैन जुधेर समस्या समाधान गर्नु पर्छ” ।
२०७६ सालमा ग्रामीण युवाहरुलाई कृषि तथा गैह्र कृषि क्षेत्रमा आय आर्जनको प्रवर्द्धन गर्न सघाउने उद्देश्य बोकेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) उनको सहारा बनेर आयो । छोराछोरीको पढाई खर्च र घर खर्चका लागि थोरै लगानीमा गाईपालन व्यवसाय गर्दै आएकी पवित्रालाई “समृद्धि” आयोजनाको कार्यक्रमले आकर्षण गर्यो । गाईपालक कृषकहरुलाई संगठित गरी व्यवसायिक बनाउने हेतुले सोही टोलमा आदर्श कृषि दुग्ध उत्पादक समुह गठन भयो । महिलाहरुको सहभागितालाई सुनिश्चित गरी ग्रामीण स्तरमा रहेका जनताको आय आर्जन वृद्धि गर्ने विशेष लक्ष्य लिएको आयोजनाले ५० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको थियो । समुहकी सदस्य रहेकी पवित्रा आफ्नै इच्छा र रुचिका कारण पनि व्यावसाय प्रवर्द्धन गर्न तथा सामाजिक दायित्व निर्वाह गर्न उद्धत भईन्।
आयोजनाले पहिलो किस्तामा ३०% अनुदान गर्ने गरी समुहका लागि मेसिन, चाफ कटर, घाँसखेतिको लागि विऊ वेर्ना, नश्ल सुधार तथा प्राविधिमा लगानी गर्यो । दोस्रो किस्तामा ५०% अनुदानमा चिलिङ्ग भ्याटको व्यवस्था गर्ने योजना छ । त्यसपछि बिहान बेलुकाको दुध संकलन गर्न सकिने र ठूला डेरी उद्योगहरुसँगको सहकार्यमा व्यावसाय विस्तारमा टेवा पुग्ने भएकोले पवित्रा उत्साहित मात्र छैनन् गाईपालन व्यवसाय बृद्धि गर्ने जाँगर पनि चलाएकी छन् ।
पहिला ५ वटा गाई पाल्दै आएकी पवित्राले आयोजनासँग सहकार्य गरेपछि ६ वटा गाई थपेर ११ वटा बनाएकी छन् । त्यस समुहमा सबै भन्दा धेरै गाई उनीहरुकै छन् । ढुंगामाटोको पुरानो गोठ अहिले ढलान गरेर व्यवस्थित बनाइन् । तीन रोपनी जग्गामा मात्र घाँस खेति गरेकोमा हाल थप जग्गाको डिलमा घाँस लगाएकी छिन् । आयआर्जनको मुख्य स्रोत नै गाईपालन बनाउँदा परिवारको जिविकोपार्जनसँगै राम्रो आम्दानी गर्न सकिनेमा पवित्रा र उनका श्रीमान विश्वस्त हुँदै गए । हाल पवित्राको गोठमा भएका गाई मध्ये तीनवटा गाई लैनो छन् तीनवटा तत्कालै ब्याउने छन् । दैनिक ८० लिटर भन्दा बढि दुधको आम्दानीबाट लागत खर्च कटाएर मासिक साठी हजारभन्दा बढि आम्दानी हुन्छ । त्यसबाट बैंक र सहकारीबाट लिएको छ लाख कर्जा चुक्ता गरी १० रोपनि जग्गा समेत जोड्न सफल भएकी छन् । एउटा थाक्छ अर्को व्याई हाल्ने भएकोले प्रायः बाह्रै महिना दुध टुट्दैन । घरमै दुध संकलन गर्न स्थानिय व्यापारी आउने भएकोले बजारको समस्या भएको छैन । अहिले समुहका सबै सदस्यहरुले समेत संकलन गर्ने गरेको उनी बताउँछिन् ।
साथमा समृद्धि आयोजनाद्वारा सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिममा सहभागि भएपछि बैंकमा आफ्नै नाममा खाता खोलि पैसा बचत गर्न समेत थालेकी छन् । आफुले गरेको व्यवसायको योजना बनाउन, परिवार, समुह र समुदायमा मेलमिलाप, छलफल र बैठक बसि आफ्ना कुराहरु सम्वन्धित ठाउँमा राख्न सक्ने क्षमता विकास भएको उनले जानकारी गराइन् । उनको कार्यलाई परिवारका सबै सदस्यले सहयोग गरेका छन् । अहिले उनीहरुले भकारो सुधारसँगै गोठेमल सुधार गरेका छन् फलस्वरूप बारीमा अर्ग्यानिक तरकारी खेति गरी त्यसबाट पनि मासिक सोह्र हजार रुपयाँ थप आम्दनी गर्दछन् । यसरी पवित्रा र उनका श्रीमान आजभोलि दैनिक १५ घण्टा तरकारी खेति र गाई कै हेरचाहमा खटिन्छन् ।
लगानीको वातावरण छैन भन्ने चौतर्फी टिप्पणीका कारण सुरुमा लगानी गर्न डराएका पवित्राको परिवार जोखिम मोलेरै यो व्यवसायमा प्रवेश गरेको थियो । आजभोलि गाउँलेहरु उनीबाट उत्प्रेरित बनेका छन् । पवित्राका श्रीमान भन्छन् ‘हामीले यति गर्नुमा समृद्धि आयोजनाको ठूलो भूमिका छ । समुहमा आवद्ध भएपछि हामीमा आँट र हिम्मत बढ्दै गयो । मेहनत गर्दा केही हुने रैछ भन्ने आशाहरु पलाउँदै गयो । मिहिनेत गरे अनुसारको आर्थिक अवस्था सुधार हुँदै गयो । छोरा छोरीलाई राम्ररी शिक्षा दिक्षा दिन सक्ने भएका छौं ।’ ‘मेहनत गर्ने जाँगर हुँदाहुँदै पनि सहयोगी हात नहुँदा युवाहरु विदेश पलायन भईरहेको अवस्थामा समृद्धि आयोजना हाम्रा लागि एउटा माध्यम बनेर आयो । जसले लगानी सहयोग, प्रविधि र हौसला दियो हामीले त्यसको सदुपयोग गर्यौ । आज हाम्रो परिवार आत्मर्निभर भएको छ,’ उनी थप्छन् ।
समस्याबाट भागेर होइन जुधेर मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने पवित्राबाट सिक्न सकिने पाठ हो । जीवनलाई संघर्षको पर्याय ठान्ने, श्रम, धैर्यता अनि लगनशिलतामा विश्वास गर्ने, योजनाबद्ध काम गर्न जान्ने पवित्रा एक गृहिणीबाट उदाहरणीय कृषि व्यावसायि बनेकी छन् ।