वैदेशिक रोजगारी छोडेर माछा पालनमा रमाउँदै बहरदार परिवार
मुख्य विषय–वस्तु: मत्स्य आपूर्ति श्रृङ्खलाको प्रवर्द्धन
सामाजिक इकाई : सुनसरी, रंगेली वडा नं. ६ गोठीटोल
सफलताको कथा मिति: फाल्गुन, २०७६
रंगेली वडा नं. ६ निवासी गोठीटोल निवासी वर्ष ३५ का सुर्जा बहरदार पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण वि.सं. २०६० सालमा खाडी मुलुक हानिए । १६०,००० रूपैया स्थानीय एजेन्टलाई बुझाएर मलेशिया पुगेका उनको तलब खाना सहित नेपाली रूपैंया ४०,००० हुने भनिएपनि १८ घण्टा खट्दा पनि जम्मा २३,००० रूपैंया मात्र पारिश्रमिक हात लाग्यो । उनी छाँगाबाट खसेजस्तो भए र ऐजेन्टसँग कुरा गर्न कोशिस गरे, तर सम्पर्क हुन सकेन । तीन वर्षे सम्झौता सकिएपछि घर फर्केका उनी पुनः पुर्खौली पेशामा फर्किने निधो गरे ।
श्रीमान विदेशमै रहँदा करिब दुई कट्ठा जमीनमा रहको दुई वटा पोखरीमा माछा पालन गरी सुर्जाकी श्रीमती शीलाले दुईजना छोराछोरी र आमालाई जेनतेन पालिरहेकी थिइन् । जब सुर्जा फर्किए, आफ्नो जग्गा नभएपछि वार्षिक ९०,००० तिर्ने गरी पाँच वर्षका लागि १५ कट्ठा जमीन भाडामा लिए र माछा उत्पादनलाई विस्तार गरे। संयोगबस वि.सं. २०७५ फागुनमा 'समृद्धि' आयोजनाले गोठीटोललाई माछा उत्पादन क्लस्टरको रूपमा पहिचान गर्यो।
वैदेशिक रोजगारीबाट फर्केकालाई यस आयोजनाले उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गर्ने काम गर्छ भन्ने सुने पछि शीला पनि आयोजनाद्वारा सञ्चालित माछा आपूर्ति श्रृङ्खला बहुसरोकारवाला गोष्ठीमा सहभागि भइन् । आयोजनाद्वारा स्थानीयस्तरमा भएको व्यवसाय सम्बन्ध (बी२बी) अन्तरक्रियामा पनि सहभागि भएकी उनले उत्पादन, प्रविधि तथा बजारीकरण जस्ता कुराहरूबारे थाहा पाइन् र माछापालनलाई व्यवसायिक बनाउने विचार गरिन् । त्यसपछि ४३ जना माछा उत्पादन कृषकहरूको बहरदारमत्स्य कृषक समूह गठन भयो, जसमा उनलाई अध्यक्षको जिम्मेवारी दिइयो ।
बी२बी अन्तरक्रिया पश्चात विराटनगरका एक माछा व्यापारी र सो समूहबीच माछा खरीद–बिक्रि गर्ने सम्झौता भयो । पोखरीको भाडा तिरेर अहिले सुर्जा दम्पतिले वार्षिक २,००,००० रूपैंया कमाउँछन् । सुर्जाले हामीसँग भने “घर चलाउने, छोराछोरीको पढाइ खर्च, चाडवर्ष, स्वास्थ उपचार गरेर केही पैसा बचत गर्ने पनि गर्छौ । आफ्नी श्रीमतीको सल्लाह, सुझाव र साथले विदेशमा दुःख पाएपनि अहिलो आफ्नै घरमा बसेर १७, १८ हजार मासिक कमाउँछौ” । व्यापारीलाई बेचेर रहेको ज्यूँदो माछा आयोजनाको ३० प्रतिशत अनुदान रहेको साइकलमा राखेर रंगेली बजारमा बेच्ने गरेको उनले बताए । "पहिलाको तुलनामा उत्पादनमा वृद्धि मात्र नभएर बिक्री पनि सहज भएको छ " उनीहरूले थपे।