RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

आप्रवासनबाट फिर्ता भएका सफल युवा उद्यमी

“विदेश मजदुरी गर्ने ठाउँ मात्र होइन, केही गरौ भन्नेका लागि सिक्ने पाठशाला पनि हो । मरुभूमिलाई सिचेर बालुमाथि लटरम्मै टमाटर फलाएर लाखौ कमाएको देखेको थिएँ । विदेशमा बसेर देखेको सपना आज पुरा गर्दैछु । आफू मात्र हैन भौतारिँदै हिड्ने साथिभाईहरुलाई पनि स्वरोजगार बन्न सिकाउँछु ।” आफ्नो कृषि तथा पशुपालन फर्म देखाएर बार्षिक ५ देखि १० लाख कमाउने योजना दङ्ग हुँदै सुनाउँछन् —देबेन्द्र ।

बाह्र बर्ष अगाडी विदेशबाट फर्किएका पौवादूम्मा २ निवासी देबेन्द्र खड्का हाल भोजपुर नगरपालिका ११ आम्तेपमा व्यवसायिक कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दछन् । उनको जोश जागर र उत्साहले त्यहाँ पुग्ने जो कोहीलाई पनि उद्यमी बन्न प्रेरणा प्रदान गर्दछ । सिक्ने र गर्ने ईच्छा शक्ति भयो भने दुनियाँमा असम्भव भन्ने केही छैन भन्दै उनले आफ्ना विगतका सङ्घर्षका कथा सुनाए । शुरुमा सिकर्मिको काम गरेका उनले खुद्रा पसल पनि गरे । आफूले चाही पसल परिवारलाई सुम्पेर सपना पुरा गर्न निकटका साथिसँग मिलेर कृषि तथा पशुपालन फर्म दर्ता गरे ।

झन्डै ४० रोपनि क्षेत्रफलमा बाख्रा पालन लगायत तरकारी र फलफूल खेति, माछा पालन, बंगुर पालन, अष्ट्रिज पालन गरेका उनले ४/५ जनालाई रोजगार दिएका पनि  छन् ।  हेर्दै लोभ लाग्दो उनको प्रगति देखेर केही गर्न नसकेर त्यहाँबाट बसाईं सरेकाहरु अहिले छक्क पर्छन् । आधुनिक र वैज्ञानिक विधि अपनाइ व्यवसाय गर्दा सफल हुन सकिन्छ भन्ने प्रमाणित गरेका छन् । गाउँ विकासका लागि आर्थिक विकास गर्नु पर्छ र त्यसको लागि व्यक्ति आफैले कमाउनु पर्छ भन्ने मान्यता राख्छन् उनी। त्यसैले आफूसँगै छिमेकिलाई पनि व्यवसाय गर्न सिकाएका छन् । मागेर खानेलाई गरेर खान र गरेर खानेलाई बेचेर कमाउन सिकाएका छन् ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजनासंगको सहजिकरणमा मिति २०७६ मा स्थानीय स्तरमा बाख्रापालक कृषक, सेवा प्रदायक र व्यापारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । जसमा बजार तथा उन्नत नश्लसुधार एवं प्राविधिक लगायत रोग तथा खोर व्यवस्थापन र दानापानीको व्यवस्थापनबारे प्राविधक र सरोकारवालाहरुले जानकारी गराए । परम्परागत हिसाबले गरिने मापन विधिबाट दुवै पक्ष मारमा परेकोबारे व्यापक छलफल भयो । व्यापारीहरुले उत्पादित खसिबोका जिउँदै तौल गरेर किन्ने कुरामा विश्वस्त गराएपछि दुवै पक्ष उत्साहित बने । खड्का पनि खसि बोका सङ्ककलन तथा खरीद बिक्रि गर्ने मनस्थितिमा छन् । उक्त अन्तरक्रिया पछि खड्काको अगुवाईमा बाख्रापालन गर्दै आएका ३५ घरधुरी समेटेर समूह  गठन भएको छ ।

यसबाट कृषकहरुलाई पनि व्यवसायिक बन्न हौँसला मिलेको समुहका सदस्य बताउँछन् । “यहाँका मानिसको गुजारा भनेको कृषि र पशुपालन नै हो तर यसलाई व्यवसायिक रुपमा सञ्चालन गर्न सकेका थिएनौं । अब बजार सुनिश्चित भएपछि बाख्रा पालनलाई जागिर ठानेर काम गर्छौं । बाख्राको उन्नत जात प्राविधिक ज्ञान र बजारको राम्रो परिबन्ध मिलेमा बाख्रापालनले बार्षिक ४ लाख सम्म कमाउन गाह्रो छैन”। वरिपरिको घाँसे चरनको अवस्था देखाउँदै समुहका सचिव लक्ष्मण कार्की बताउछन् । आर्थिक विकासमा टेवा हुने काममा वडा कार्यलयको पूर्ण सहयोग रहने कुरामा प्रतिवद्धता जाहेर गर्दै वडा अध्यक्ष अशोक राईले देबेन्द्रलाई नमूना किसानको रुपमा सम्मान गर्ने विचार राखे ।

हाम्रा समुदायमा देबेन्द्र जस्तै नमुना र कर्मयोगी मानिसको खाँचो छ । हामीले देबेन्द्रबाट सिकेर व्यवसायिक खेती गरी स्वरोजगार र आत्मानिर्भर बन्न केले छेकेको छ, अब मनन् गरेर काम थालौं ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020