RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

अवसर र मेहनतले मिलेको सफलता

अनिता परियार धनकुटा जिल्ला हालको छथरजोरपाटी गाँउपालिका वडा नं. ३ को स्थायी बासिन्दा हुन । तर बिगत लामो समय देखि उनी धनकुटा नगरपालिका बस्दै आईरहेकी छन् । उनी सानै हुँदा उनकी आमाको मृत्यु भयो र बुवाले अर्को विवाह गरेर छाडेर गए देखि उनी आफ्ना ठुलो बुवा ठुली आमा सँग बस्न थालिन । ठुलो बुबाको आर्थिक अवस्था त्यति राम्रो नभएकोले उनी सानै देखि अर्कोको घरमा भाँडा माझन काम गर्दे सरकारी स्कुलमा भर्ना भइन र एसएलसी उर्तिण पनि गरिन तर त्यो भन्दा माथिको अध्ययनलाई नियमितता दिन भने सकिरहेकी थिईनन् । सानै देखि काम गर्ने बानी परेकी अनिता कहिले काहीँ फूर्सदिलो भएको बेला घरमा भएको ठुली आमाको पुरानो मेसिनबाट फाटेका पुरानो कपडा सिलाउने गर्थिन । यसबाट पनि अलि पैसा आउने भएकोले उनलाई सिलाईकटाईमा थप सीप सिकेर अरुको घरमा काम गर्नुको सट्टा यसलाई नैं पेशा बनाउन पाए हुन्थ्यो भन्ने चाहाना थियो । तर चाहाना मात्र गरेर के गर्नु ? पैसा तिरेर तालिम लिने क्षमता उनमा थिएन र छिमेकमा अन्य साथीहरु सिलाई सिक्न गएको देखेर अनितालाई पनि सिलाईको रहर लाग्थ्यो तर रहर दबाएर बस्नु सिवाय उनमा अरु विकल्प थिएन ।

उनको दिनचर्या यसरी नै बितिरहेको थियो । एक दिन उनको छिमेकी बहिनीबाट  सिलाई सम्बन्धि निःशुल्क तालिम संचालन हुन गइरहेको बारे जानकारी पाइन तर अनिताले यस्तो तालिममा चिनजानका व्यक्तिलाई मात्र राख्छन् होला भनेर खासै चासो दिईनन् । तर तिनै बहिनीले एक पटक बुभ्mन त बुझौँ भनेर साह्रै कर गरेपछि धनकुटा नगरपालिका वडा नं. ४ को कार्यालयमा तालिम बारेमा बुझ्न गईन् ।

नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वयवस्थापनमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धी) को आर्थिक सहयोगदमक टेक्निकल एजुकेशन फाउण्डेसन प्रा.लि, दमकद्वारा संचालन हुने तालिममा आबेदन दिनु पर्ने र अन्तर्वार्तामा पास हुनसके मात्र तालिममा सहभागी हुन पाउने निःशुल्क तालिम रहेको जानकारी उनले प्राप्त गरिन् । तालिममा सहभागी हुने ईच्छा त भयो तर आबेदन दिन आवश्यक पर्ने नागरिकता भने बनिसकेको थिएन । उनी भन्छिन् “नागरिकता बनाउनको लागि वडा अध्यक्षसँग अनुरोध गरे उहाँको सहयोगले बुबा आमा नभएपनि एक दिनमा नै नागरिकता बन्यो । त्यसपछि तालिमको लागि आबेदन दिए । तालिम छनौटका सम्पूर्ण प्रक्रिया पुरा गरेर तालिममा छनौट पनि भए” ।

नियमित ६५ दिन नै तालिममा सहभागी भएकी अनिताले मुसुक्क मुस्काउदै तालिमका सुरुवाती दिनहरुको स्मरण गर्दै भनिन् “म पहिला देखि नै मेशीनसँग परिचित भएर होला अरु साथीहरुको जस्तो मेशीन उल्टो घुम्ने, सियो भाँचिने समस्या मैले भोग्नु परेन् ।” तालिम अवधिभर साह्रै लगनशिल सहभागीको रुपमा परिचित अनिताले तालिमको क्रममा बजारमा टेलरिङ्क व्यवसाय गर्दै गरेकी एक जना चिनजानको माइजूसँग रोजगारको लागि कुरा गरेकी रहेछिन् । फलस्वरुप  तालिम सकिए लगत्तै देखि उनी धनकुटा बजारमा रहेको दुर्गा टेलर्समा काम गरिरहेकी छन् । उनी भन्छिन्, “आजकाल मेरो काम भनेको बिहानै आएर पसल खोल्ने, कपडा अर्डर लिने जानेको जति सिलाउने अनि ढुक्कले पसलको जिम्मा लिने हो । 

औषतमा महिनाको रु. १५०००।– सम्म आम्दानी गरिरहेकी अनिताले मेहनत र इमान्दारिताको साथ काम गरेको भएर उनकी माइजु तथा ग्राहकको मन जित्न सफल भएकी रहेछिन् । आगामी दिनको योजनाको बारेमा सोध्दा उनी भन्छिन, “आफ्नै कमाईबाट कलेजको खर्च पुर्याउन सक्ने भएकी छु’ त्यसैले अब अर्को बर्षबाट पढाईलाई पनि निरन्तरता दिने सोचेकी छु । साथै यहि कामलाई निरन्तरता दिदै  थप सीपहरु पनि सिक्नेछु अनि १-२ बर्ष भित्र आफै टेलरिङ्क पसल संचालन गर्नेछु” । अलि गम्भीर मुद्रामा उनले आफ्नो विचार व्यक्त गरिन, “नितान्त एक्लो (टुहुरो) बालपन देखि यो अवस्थासम्म आईपुग्दा आफुले ठूलै प्रगति गरे जस्तो लाग्छ । समृद्धी परियोजनाबाट तालिम प्राप्त भएकाले मात्रै यो सफलता प्राप्य भएको हो ।”

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020