RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

मोहनपुरको सुकुम्बासी बस्तीका महिलाहरुको फेरियो जीवनस्तर!

ललिता साह,२३ असार २०७९, बिहीबार

लिङ्कः मोहनपुरको सुकुम्बासी बस्तीका महिलाहरुको फेरियो जीवनस्तर! « News24 : Premium News Channel (news24nepal.tv)

(राजविराज) सप्तरी । सप्तरीको राजविराजस्थित मोहनपुर सुकुम्बासी बस्तीकी सुनिता नेपाली आधा दर्जन गाई पालेर अहिले दैनिक २५ लिटर बढी दूध उत्पादन गर्दै आएकी छन् । यसअघि दाउराको भारी बोकेर दैनिक गुजारा चलाउँदै आएकी उनी ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्वि)सँग सम्बद्ध हुन थालेपछि उत्साहित भइन् । र, गाईपालन व्यवसायमा आफ्नो भविष्य कल्पना गर्न सक्ने भएकी छन् ।

गाई पालनबाट दूध उत्पादन राम्रै हुन थालेपछि सुनिताका दिनहरू विस्तारै फेरिन थालेको छ । ‘दूध उत्पादन भएपछि खेर जाने अवस्था छैन, बेच्नका लागि समस्या नभएपछि आर्थिक अवस्था पनि सहज हुँदो रहेछ’, उनी सुनाउँछिन्, ‘आफ्नो दैनिक घर खर्च बाहेक राम्रै बचत पनि हुन थालेपछि खुशी लागेको छ ।’
उनी एक पात्र मात्र हुन् । उनीजस्तै स्थानीय शान्ताकुमारी खत्रीले पनि अहिले ‘समृद्वि’ आयोजनाको कृषिमुखी कार्यक्रम ल्याएसँगै आफूहरू लाभान्वित भएको बताइन् । उनले भनिन्, ‘हामीले उत्पादन गरेको दूध बेच्नका लागि समस्या छैन, आवश्यकता परेको समयमा जुनसुकै बेला पनि सहकारीले खातामै पठाइदिन्छ ।’ पछिल्लो समय आयोजनाका कारण यहाँका दर्जनौँ महिलाहरूको जीविकोपार्जनमा सहजीकरण भएको छ ।

सोही ठाउँकी लक्ष्मी विशुंखेले आफैँले व्यवसाय गर्दा अरुको सहारामा जीवन गुजार्न नपरेको सुनाउँछिन् । ‘कहिलेकाहीँ एक महिनामा २० हजारसम्म बचत हुन्छ’, उनले भनिन्, ‘घरखर्चका लागि श्रीमानको सहारामा बस्नुपरेको छैन, दिनभर घरमै बस्नुभन्दा व्यवसाय गर्दा अन्य मानिसलाई पनि प्रोत्साहन हुन्छ ।’

सुकुम्बासी बस्तीको सफलताको कथाका प्रतिनिधि पात्रको रूपमा सुनिता, शान्ता र लक्ष्मी जस्तै स्थानीय सरिता परियार, सरु खत्रीसहित दर्जनौँ महिला अहिले समृद्धि आयोजनाको कार्यक्रम निकै नै सहयोगी भएको र किसानहरूलाई आत्मनिर्भर बन्न हौसला प्रदान गरेको बताउँछन् ।

आयोजनाकै सहयोगमा विपन्न कृषक तथा दूध उत्पादन समूहकै गठन भएकोे छ । विशेषतः आयोजनाले कृषकहरूलाई प्राविधिक सहयोग र नेटवर्क जोड्ने काम गर्दै आएको छ । यही समूहमार्फत पुरक अनुदान सहयोग कार्यक्रम अन्तर्गत सामूहिक खेती, सुधारिएको गोठ, साना व्यवसाय सञ्चालन लगायतको कार्यहरूमा सहयोग पुगेको छ ।

आयोजनाकी फिल्ड सुपरभाईजर रुबि झा का अनुसार यसै सुकुम्वासी बस्तीका हरेक २० जना महिलाहरूको ३ वटा समूहले आयोजनासंग सहकार्य गरी गाईपालन व्यावसाय विस्तार गरिरहेका छन् ।

उनका अनुसार आर्थिक रूपमा सबल महिलाहरू प्रति परिवार र समाजले गर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । उनका अनुसार आयोजनाले कृषकहरूको क्षमता विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

दूध उत्पादनले ल्याएको परिर्वतन

दिनभर मजदूर गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मानिसहरूलाई चार वर्षअघि समृद्वि आयोजनाले सुकुम्बासी बस्तीमा गाईपालनको योजना ल्याएपछि दिनचर्या फेरिएको छ । बेरोजगारी निरुत्साहनको अभियान सञ्चालन गरेको समृद्विले सुकुम्बासी बस्तीका मानिसहरूको सुधारोन्मुख अवस्था ल्याएपछि यहाँका बासिन्दा हर्षित छन् ।

उत्पादन गरेका दूध गाउँमै रहेका आदर्श सहकारीमा बेचेर सहजताले परिवारको गुजारा चलाएका छन् । त्यसको अलावा सबैजसो परिवारले बेमौसमी तरकारी बाली गरेर पनि उत्पादनमा जोड दिएका छन् । उनीहरूले बेमौसमी तरकारी खेती तथा मौसम अनुसारको कृषि बाली लगाउँछन् ।

आदर्श सहकारीका दीपेन्द्र आचार्यका अनुसार चार वर्षयता यहाँका दर्जनौँ मानिसहरू उत्पादनमुखी काममा लागेका कारण जीविकोपार्जनमा सहज भएको छ । उनले भने, ‘यहाँको व्यक्तिलाई भविष्यको सुन्दर सपना देख्न र त्यसै अनुसार दैनिकीलाई सुधार गर्न समृद्विले महत्वपूर्ण भूमिका खेलेको छ ।’

अहिले सहकारीमार्फत गाउँका कृषकहरूलाई जोडेकाले उनीहरूले मनग्य बचत समेत गरेको आचार्य सुनाउँछन् । ‘साह्रो–गाह्रो र दुःखको बेला बिना ब्याज पैसा नै दिएर पनि सहयोग गर्दै आएका छौँ’, उनले भने । कृषिसँगै उत्पादनलाई जोड दिँदा अहिले कृषकहरू आत्मनिर्भर बनेका छन् ।

 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020