RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

आफ्नै रुचिको पेसा अपनाउन पाउँदाको खुसी

हरेक मानिसको जीवनका आ–आफ्नै कथा हुन्छन्, आ–आफ्नै भोगाइ हुन्छन् र आ–आफ्नै किसिमका संघर्ष हुन्छन्  र त भनिन्छ, जीवन संघर्ष कै रुप हो । हाल सिराहा धनगढी निवासी ३४ वर्षिया निशा दनुवार आफ्नो जीवन पनि ज्यादै नै संघर्षपूर्ण भएको बताउँनुहुन्छ । उदयपुर घर भएकी निशाको सपना पढाइ पूरा गरेर जागिर खाने थियो । कमाइको एक मात्र श्रोत कृषि पेसा भएका उनका बुवाआमाले १२ जना छोरीहरुको पढाइ खर्च धान्न सक्नु भएन् । त्यसैले कक्षा ८ मै निशाले आफ्नो पढाइलाई पूर्णविराम लगाउनु परेको थियो। आफूभन्दा ठूला दिदीहरुको बिहे हुदै गए पछि आफूभन्दा साना बहिनीहरुलाई पढाउने जिम्मेवारी पनि उनकै काँधमा आयो । आमाबुवा वृद्ध र रोगी हुदै गएपछि घरको सम्पूर्ण जिम्मेवारी क्रमश: निशा कै थाप्लोमा आइ पर्यो । दिन रात विभिन्न किसिमका काम गर्दै भए पनि दुई वटी बहिनीलाई उनले कक्षा १२ सम्म पढाइन । बिहे पछि श्रीमान वैदेशिक रोजगारीमा रहनु भएकाले निशाले धेरै वर्ष  खेतीपाती र संयुक्त परिवारको हेरचाह मै समय बिताउनु पर्यो । जति काम र जिम्मेवारी बहन गरे पनि आर्थिक रुपमा जहिले पनि कमजोर भएपछि निशालाई आफूले पनि पैसा कमाइ हुने केही काम गर्नुपर्छ भन्ने लाग्यो । वैदेशिक रोजगारबाट निशाका श्रीमान फर्किएपछि अवसरको खोजीमा  निशा र उनका श्रीमान सिराहको धनगढी झरेका थिए । निशाका श्रीमान धनगढी वरिपरिका स्थानमा घर बनाउने लगायतका काम गर्न थाले भने निशा चाँहि कमाइ गर्ने अवसरको खोजीमा लागिन् । उनलाई व्यूटीसियन पेसा प्रति लगाव भएकाले उनले यही पेसा अगाल्ने सोंच पहिले देखि नै राखेकी थिइन् ।

उनी  भन्छिन,  “धनगढी आए लगत्तै मैले व्यूटीसियन सम्बन्धि सिप  सिक्न धनगढी र लाहानमा भएका विभिन्न व्यूटीपार्लरमा धाए तर सिकाइको शुल्क महङ्गो भएकाले सिक्न जान सकिन।”  धनगढी झरिसकेपछि श्रीमानको कमाइले मात्र घरभाडा र निर्वाह खर्च धान्न हम्मे हम्मे नै हुन थाल्यो । त्यसैले उनले व्यूटीसियन बन्ने आफ्नो चाहानालाई थाती राख्दै गुजाराका लागि सानो किराना पसल खोलिन । किराना पसल त खोलिन तर उक्त  पसलले उनलाई राम्रो आम्दानी दिन सकेन । भाडा तिर्नै धौ धौ भयो । त्यसैले उनले केही समय पछि किराना पसल बन्द गर्नु पर्ने अवस्था आइपर्यो । पसल बन्द  गरेपछि अब के गर्ने भन्ने अन्यौलमा  भएकै बेला  निःशुल्क व्यूटीसियनको तालिम खुलेको कुरा निशाले थाहा पाइन । तालिमलाई समझ्दै  भन्छिन, “वास्तवमै त्यो तालिम मेरो लागि धेरै महत्वपूर्ण थियो, किनकी मलाई सिप सिक्नु थियो र शुल्क तिर्न सक्ने अवस्था पनि थिएन ।” आवश्यक  प्रकृया पूरा गरी निशा तालिममा पनि छनौट हुनु भयो । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अन्तरगत क्रियटिभ स्कील्स प्रा.ली.ले आयोजना गरेको ६५ दिनको तालिम पूरा गरेको २ महिना पश्चात  नै निशाले धनगढी बजारमा विक्रीमा रहेको एउटा व्यूटीपार्लर  किनिन् । धनगढी कै स्थानीय सहकारीमा सदस्यता लिएकाले लगानीका लागि रकम जुटाउँन भने उनलाई केही सजिलो भयो ।

“मैले व्यूटीपार्लरमा सेवा दिन थाल्दा चाडबाडको समय परेकोले पनि सुरुवाती दिन देखि नै व्यवसायबाट राम्रो आम्दानी हुन थालेको थियो ।” उनी हर्ष मिश्रित स्वरमा सुनाँउदछिन्  ।  उनी आफ्नो व्यवसायबाट महिनामा सरदर रु. २२०००–२५००० कमाइ  गर्नुका साथै  तालिममा सँगै  सिकेकी एक जना  साथीलाई रोजगारी समेत दिइरहेकी छन् । निशा आफ्नो कमाइबाट सहकारीको ऋणको किस्ता तिर्ने र दैनिक बचत समेत गर्ने गरिरहेकीछन । “आफैले कमाउन थाले देखि बेलावखत आइपर्ने खर्च टार्न र दैनिक गुजारा चलाउन मात्रै  सजिलो भएको छैन् ।”  निशा थप्दछिन “आफैं केही गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढेको छ ।”

२०७६ को चैत्र देखि भएको लकडाउनले भने निशाको भर्खर अंकुराउँदै गरेको व्यवसायमा गहिरो धक्का परेको थियो । लामो समय सम्म व्यवसाय वन्द गर्नुपरेकोले व्ययभार मात्र बढ्यो ।  लकडाउनको अन्त्य भएसँगै उनको व्यवसाय  फेरी पुरानै लयमा फर्कन  थालेको छ । अव फेरी चाडपर्व र विवाहको समय आएकाले निशा आफूमा नयाँ जोस र जाँगर थपिएको बताउछिन । आगामी दिनमा निशाको योजना बजारको माग अनुसार सिप विकाससँगै व्यवसायको विकास तथा बिस्तार गरी यहि पेशालाई जीवन जिउने आधार बनाउने रहेको छ ।

तालिमको माध्यमबाट उनले आफूले चाहेको जिविकाबाट आमदानी गर्न सक्ने बनाएकोमा समृद्धि आयोजनाको संचालन गर्ने उद्योग बाणिज्य तथा आपूर्ती मंत्रालय,  आयोजनालाई आर्थिक सहयोग गर्ने कृषि विकासका लागि अन्तराष्टि्य कोष, आयोजनालाई प्राविधिक सहयोग गर्ने संस्था  हेल्भेटास नेपाल अनि तालिम तथा रोजगार सेवा प्रदायक प्रति आभार व्यक्त गर्दछिन् ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020