RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

लैङ्गिक कार्य सिकाई पद्धतिको प्रभाव स्वरुप नर्वदाको परिवारमा उल्लेख्य परिवर्तनहरु देखियो

३४ वर्षीया नर्वदा मगरको परिवार विगत दुई वर्षदेखि प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लाको कर्जनहा नगरपालिका वार्ड नं. १ रतनपुर भन्ने ठाँउमा बसोबास गर्दै आएका छन् ।पति, दुई छोरा, एक छोरी र आफू सहित गरी ५ जनाको उनको सानो परिवार रहेको छ ।संघर्षशील तथा इमान्दार नर्वदा दम्पत्तिले छोटै अवधिमा योजनाबद्ध सपना कार्यान्वयनका कारण जीवनमा उल्लेख गर्न लायक आर्थिक बृद्धि र परिवर्तन हाँसिल गरेका छन् ।

आर्थिक दृष्टिले निम्न वर्गको यो परिवार कृषि पेशामा आवद्ध छ ।प्रारम्भमा आफ्नो जग्गा र घर नभएको कारणले अरुको घरमा बसी अरुकै खेतीपातीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका थिए ।उनको पतिले गाउँको एक साहुको ट्याक्टर चलाँउदै आइरहेका छन्। आर्थिक स्थिति अत्यन्तै नाजुक भएको कारणले बचत पनि गर्न सकिरहेका थिएनन्। दुवैले मेहेनत गरेर कमाएको पैसाले विहान बेलुकाको छाक टार्न मुस्किल पर्थ्यो। जीवन कठिनाइका साथ व्यतित भइरहेको थियो । करिब १.५ वर्ष अघि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना गाउँमा लागू हुने भयो। यस अन्तर्गत कार्यान्वयन शुरू भएको लैङ्गिककार्य सिकाइ पद्धति (GALS) सिकाइको बारेमा नन्द बाबा सहकारी संस्था अन्तर्गत गाल्स समुहको मेन्टर सुमित्रा कार्कीबाट नर्वदाले धेरै कुरा बुझ्ने मौका पाइन् । लगत्तै सदस्यको रुपमा उक्त समुहमा आवद्ध पनि भइन् । नियमित रूपमा कक्षा लिने क्रममा उनले गाल्स सिकाई पद्धतिको ─ सुनौलो सपनाको यात्रा विधि अन्तर्गत  तीन वर्षको सपनाको खाका पनि तयार गरिन् जसमा उनको आफ्नो आर्थिक स्थिति सुढृढ बनाउँछु भन्ने सिलसिलाबद्ध सपना थियो । लक्ष्य अनुसार मिहेनत पनि गर्दै जान थालिन् । नर्वदाले आफूले सिकेका बुझेका कुराहरु र सपनाको योजना पतिलाई पनि बुझाउन थालिन्। अन्तत: नर्वदाको विचार र योजनामा उनको पतिको पनि चित्त बुझ्यो फलस्वरूप व्यवहारमा परिवर्तन देखिन थल्यो। जस्तै;दैनिक रक्सी सेवन गर्ने उनका पतिले त्यसलाई विस्तारै कम गर्दै गए । परिवारको बचतमा बृद्धि हुन थाल्यो र सो वचतलार्इ उनीहरूले आफ्ना विविध योजना कार्यान्वयनका लागि सदुपयोग गर्न थाले।

नर्वदाको सपना थियो, एउटा आफ्नै घर होस्, आफ्नै जग्गा होस्, अनि पशु चौपायाहरु पनि थप्न सँकु भन्ने ।विस्तारै यी जोडी दुवैको लगनशीलता र इमान्दारिताले निजहरुको जीवनमा परिवर्तनका लहरहरु देखिन थाल्यो ।नवर्दाको दम्पत्तिले आफ्नो बचत अनि सहकारी तथा आफन्तबाट कर्जा लिएर भए पनि आफ्नो थोरै जग्गा जोड्न सफल भए ।सोही जग्गामा केही समय पछि सानो घर पनि ठडियो ।एउटा भैंसी पनि थपिए । अब सुखका दिनहरू आउन थाले।

साँच्चै, नर्वदाको हौसलाका कारण भएको यी प्रगतिले नर्वदालाई ज्यादै खुसी बनाएको छ ।लैंगिक सिकाइ कार्यक्रम तालिम हाँसिल गरिसकेपछिका शुरुवातमा पनि अरुको अगाडि खुलेर बोल्न धकाउने नर्वदा अहिले विस्तारै निर्वाध भएर आफ्ना कुरा राख्न सक्ने भएकी छिन् ।यसै सिलसिलामा नर्वदा भन्छिन् “पहिला त हाम्रो आर्थिक स्थिति धेरै कमजोर थियो। यो समुहबाट मैले धेरै कुरा बुझेर आफ्नो  सपना बनाएँ। अहिले त्यो सपना क्रमशः पुरा हुदैँछ, हामी एक दम खुसी छौँ ।”

यसरी लैङ्गिक कार्य सिकाई पद्धतिको प्रभाव स्वरुप नर्वदाको परिवारमा उल्लेख्य परिवर्तनहरु देखिएको छ। उनीसंग आज सानै भए पनि आफ्नो घर छ। त्यस्तै गोठमा दुधालु २ वस्तु भाउ छन् । दैनिक दूध विक्री तथा उनको पतिको आम्दानीबाट नर्वदा दम्पत्तिको आर्थिक अवस्थामा सुधार आएको देख्न पाइन्छ । साथै उनीहरूको व्यवहारमा पनि परिवर्तन देखिन्छ। उनीहरूले घर कर्जा तिर्दै, साँवा घटाउँदै लगेका छन् ।यसले नर्वदाको हौसला पहिलेको भन्दा अझ बढेर गएको छ । उनी निर्धक्क भएर आफ्ना कुराहरु राख्न सक्ने भएकी छन्। आयोजना संग सम्बद्ध भए पछि नर्वदाको  व्यक्तिगत तथा पारिवारिक जीवनमा मात्र परिवर्तनका लहरहरू देखिएका छैनन् उनको समाजका सदस्यहरूलाई समेत प्रेरणा मिलेको छ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020