सिप सँगै आर्थिक समृद्धि
बविता कुमारी चौधरी उदयपुर जिल्ला वेलका गा. पा. वडा नं. २ नयां टोलकी बासिन्दा हुन् । दुई वर्ष पहिलेसम्म उनको सम्पूर्ण परिवार खेतीपाती र कृषि मजदुरीको आम्दानीमा निर्भर थियो तर यो आम्दानीले परिवारलाई गुजारा चलाउन प्रयाप्त थिएन । बविता रोजगारीको खोजीमा थिइन तर उनीसंग रोजगारी शुरु गर्नका निम्ति आवश्यक पर्ने कुनै सीप भने थिएन । बालबच्चाको लालनपालन, पढाइ र परिवारको खर्च जुटाउन ज्यालामजदुरी गर्नुपर्ने बाध्यता थियो । गतिलो आम्दानीको श्रोतको खोजीमा थिइन उनी । गत २०७५ साल बैशाख तिरको कुरा हो, एक स्थानीय एफ एम रेडियोबाट प्रसारण भएको विज्ञापनले उनलाई सिलाई उद्यमीको यात्रामा अग्रसर गरायो । विज्ञापन सुनेको आधारमा उनीले सिलाइकटाइ तालीम लिएर सिलाइ कटाइको काम गरि जीविकोपार्जन गर्ने निर्णय लिइन । तालिमको छनौट प्रक्रियामा सफल भएर उनी ३ महिने (३९० घण्टा) सीलाइकटाइ तालिममा भर्ना भइन् । उक्त तालिम पञ्चकन्या ट्रेनिङ्ग इन्ष्टिच्युट मार्फत नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वयवस्थापनमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण उद्यम तथा विप्रेषण परियोजना (समृद्धि) अन्र्तगत सप्तकोशी नगरपालिकाको फत्तेपूरमा सञ्चालन भएको थियो ।
नियमित रुपमा सहभागि भई बबिताले तालिम पूरा गरिन । तालिम पूरा गरेर शुरुमा उनले केही रकम जम्मा गरी २ वटा सेकेण्ड ह्याण्ड सिलाइ मेशीन खरीद गरेर घर नजिकैको एउटा चोकमा कपडा सिलाइको काम शुरु गरिन । उनको सेवा लिन विस्तारै ग्राहकहरु बढ्दै थिए । ग्राहकहरु उनको कामबाट सन्तुष्ट थिए । यसले उनलाई सिलाइ उद्यम सञ्चालन गरिरहन र बााकीरहेको समयमा गृहिणीहरुलाई सिलाइकटाइ सिकाउन हौसला मिल्यो । उनको मनमा आफ्नै टोलको मात्र कपडा सिलाइ गरेर आम्दानी बढाउँन सकिन्न भन्ने लाग्यो । ग्राहककरुको भिडभाड हुने स्थानमा सिलाई पसल राख्नुपर्ने कुरा उनले तालिमकै दौरान प्रदान गरिएको व्यवसायिक सीपको कक्षाबाट सिकेकी थिइन् । त्यसैले उनले आफ्नो घरदेखि अलिकति टाढा उदयपूरको पुरनधारा बजार नजिकै सिलाई पसल खोलिन । स्थानीय महिलाहरु तलिम लिनका लागि पनि उनको पसलमा आउन थाले । आजभोली उनको राम्रो आम्दानी हुन थालेको छ । यसैबाट घरखर्च पनि चलेको छ । उनी खुशी हुदै भन्छिन् “यो सबै सीप सिकेको कारण सम्भव भएको हो । ”
हाल उनी सानै भए पनि एउटा सिलाइ पसलको मालिक बनेकी छिन । उनले जे सोचेकी थिइन प्राप्त गरिन र यसले उनको जीवनमा खुशियाली ल्याएको छ । आजभोली उनी गाउंका अरु वेरोजगार महिलाहरुलाई पनि आत्म निर्भर बन्न सकून भन्ने द्येयले रोजगारमूलक सीप सिक्नका लागि प्रोत्साहित गरिरहेकी हुन्छिन् । “भरपर्दो आम्दानी गर्न केही गर्ने सोचाइ बोकेका युवाहरुका लागि गाउँमै अवसरहरु उपलव्ध छन् । आफूमा जाँगर चाही हुनु पर्छ।” बविता बताउँछिन्।
हाल उनले सामान्य डिजाइनका कपडाहरु मत्रै सिलाइरहेकी हुन । आफ्नो सिलाइ पसलबाट हुने आम्दानीलाई अझ बढाउने र स्थानीय युवाहरुलाई रोजगारी दिने उनको सपना छ । यसका लागि थप लगानी र परिस्कृत सीपको खाँचो छ । त्यस्तो अवसरको खोजीमा छिन् उनी ।