RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

News

स्थापना गरिएका १४ आप्रवासन केन्द्रहरू स्थानिय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा समृद्धि आयोजना

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईफाड) को सहयोगमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाले कृषि तथा गैरकृषि क्षेत्रमा आय आर्जन सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरी सम्भाव्य लघु, घरेलु तथा साना उद्यम प्रवर्द्धन गर्ने तथा ग्रामीण गरिब घर परिवार, आप्रवासी घर परिवार र आप्रवासनबाट फिर्ता भएकाहरुका लागि दिगो आर्जनको श्रोत प्रदान गर्ने बृहत्तर उद्देश्य लिएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आईफाड बिच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई ७ वर्षका लागि आयोजना कार्यान्वयनमा आएको यस आयोजनाले  प्रदेश १ का ८ जिल्लाहरू क्रमश: मोरङ्ग, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ र उदयपुर; प्रदेश २ अन्तर्गतका ७ जिल्लाहरू क्रमश: सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र वारा तथा प्रदेश ३ को एकमात्र जिल्ला सिन्धुली सहित गरी जम्मा १६ जिल्लाहरुमा कार्यक्रम कार्यान्वयनमा रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र र स्वीस विकास नियोगको हेल्भटास नेपाल आयोजनाका प्रमुख साझेदार निकायहरु हुन् ।

नेपाली अर्थतन्त्रमा आप्रवासनबाट अधिकतम लाभ लिई दिगो तथा प्रभावकारी आप्रवासन सेवा प्रदान गर्ने उद्देश्यले आयोजना कार्यान्वयन हुने स्थानीय तहका आप्रवासि परिवारलाई थप टेवा पुर्याउन आयोजनाबाट निम्न सेवाहरु प्रवाह भईरहेको छ;

  •  स्वदेश रोजगार तथा वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने ।
  • वैदेशिक रोजगारका क्रममा ठगीमा पर्ने, अलपत्र हुने, गन्तव्य मुलुकमा विभिन्न समस्यामा पर्ने  लगायतका समस्याहरु न्युनीकरण गर्न सचेतना अभिवृद्धि गर्ने तथा सेवा प्रदायक निकायहरुको क्षमता विकास गरी समन्वयात्मक रुपमा कार्य गर्ने ।
  • जिल्ला तथा क्लस्टर तहमा आप्रवासन र विकास मञ्च (PMD) खडा गरी आप्रवासन र विकाससंग सम्बन्धित सरोकारवालाहरुको सहभागितामा सामुहिक नीति, रणनीति, प्राथमिकताका विषय, आप्रवासन कार्ययोजना तथा कार्यसम्पादनका लागि संवाद तथा छलफल  गर्ने ।

उल्लेखित काम गर्नको लागि जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा आप्रवासी श्रोत केन्द्र र आप्रवासी सूचना कक्ष सञ्चालन गरी वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुको वैदेशिक रोजगार सुरक्षित र उपलब्धिमूलक बनाउन सूचना तथा परामर्श प्रदान गरिरहेको छ । आयोजनाले आफ्नो कार्यक्षेत्रमा निम्न स्थानमा ४ वटा आप्रवासी स्रोत केन्द्र ‌र १० वटा आप्रवासी सूचना कक्ष संचालन गरेको छ। यि आप्रवासन केन्द्रहरू यसै आर्थिक वर्ष २०७८/७९ भित्र सम्वन्धित स्थानिय तहहरूको नेतृत्वमा सञ्चालन हुने गरी हस्तान्तरणको प्रकृया शुरु गरिएको छ।

आप्रवासी सूचना कक्ष

१०(स्थान)

प्रदेश १

प्रदेश २

सिद्धिचरण नगरपालिका (जिल्ला प्रशासन कार्यालय), ओखलढुंगा

चन्द्रपुर नगरपालिका (ईलाका प्रशासन कार्यालय), रौतहट

चौबिसे गाउंपालिका (राजारानी ईलाका प्रशासन कार्यालय), धनकुटा

गरुडा नगरपालिका(गरुडा ईलाका प्रशासन कार्यालय), रौतहट

षडानन्द नगरपालिका (दिङ्गला ईलाका प्रशासन कार्यालय), भोजपुर

जितपुरसिमरा उप-महानगरपालिका (सिमरा ईलाका प्रशासन कार्यालय), बारा

म्याङ्लुङ नगरपालिका((जिल्ला प्रशासन कार्यालय), तेह्रथुम

कोल्हवी नगरपालिका (कोल्हवी ईलाका प्रशासन कार्यालय ),बारा

आठराई गाउंपालिका, संक्रन्ति बजार ईलाका प्रशासन कार्यालय), तेह्रथुम

सिम्रौनगढ नगरपालिका (सिम्रौनगढ ईलाका प्रशासन कार्यालय), बारा

आप्रवासी स्रोत केन्द्र

४ (स्थान)

धनकुटा नगरपालिका (जिल्ला प्रशासन कार्यालय), धनकुटा

कलैया उप-महानगरपालिका(जिल्ला प्रशासन कार्यालय), बारा 

भोजपुर  नगरपालिका (जिल्ला प्रशासन कार्यालय), भोजपुर

गौर नगरपालिका  (जिल्ला प्रशासन कार्यालय), रौतहट 

आप्रवासी तथा तिनका घरपरिवारले विप्रेषणद्वारा आर्जन गरेका आम्दानीलाई उत्पादनशिल क्षेत्रमा लगानीको सहजीकरण गर्न आवश्यक संयन्त्र बनाउन पनि आयोजनाले आवश्यक कदम अघि सारेको छ। उदाहरणको लागि ─ वैदेशिक रोजगारीमा रहेका व्यक्तिले विदेशबाट पठाउने विप्रेषण आम्दानीको स्वदेशमा नै लगानी तथा बचत गर्ने अवसर सिर्जना गरी विप्रेषणको सही सदुपयोग गर्न सहयोग पुर्याउने हेतुले, वित्तीय संयन्त्र एवं प्रणालीको विकास गरेको छ ।

यसका लागि "समृद्धि” आयोजना र नागरिक लगानी कोष बिच सहकार्य सम्झौता सम्पन भएको छ । यस प्रकार कार्यान्वयनमा ल्याईएको अनलाईन सेवाबाट अन्य देशका अलावा गल्फ मुलुकहरू—बहराईन, कुबेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब ईमिरेट्स(युएई)का आप्रवासीहरू वैदेशिक रोजगारको आम्दानीलाई आँफु र आफ्ना परिवारको भविष्य सुनिश्चित हुने अपेक्षा गरिएको छ । जस्तै; आप्रवासनमा रहेको व्यक्तिले अनलाईन सेवा मार्फत विदेशमा नै रहेर विप्रेषणको हिस्सा नागरिक लगानी कोषको खाता मार्फत बचत वा लगानी र कति आफ्नो तथा परिवार लागि खर्च गर्ने भन्ने निर्णय लिन सक्दछ । उपरोक्त सेवाबाट विदेशमा रहेका आप्रवासी कामदार तथा सेवाग्राही नागरिक लगानी कोषले ल्याएका आकर्षक लगानी एवं बचत योजनाका अवसरहरूबाट लाभ उठाउन पाउने छन्।

घरको आर्थिक समस्या टार्न विदेशिएका धेरै नेपालीहरु काठको बाकसमा प्याक भएर आएका घटनाहरु सर्वविदितै छ । जस्तै; बारा जिल्ला, सुवर्ण गाउँपालिका–६ का लालसा देवी वैठको श्रीमान् वैदेशिक रोजगारका क्रममा मृत्यु भएपछि लालसा र उनका २ बालबच्चाहरुका लागि समृद्धि आयोजना दुःखको साथी बन्न पुगेको छ । परिवारमा कमाउने व्यक्तिको गुमाएको पिडाको विचमा आप्रवासी श्रोत केन्द्र, कलैयाको सहजीकरणमा लालसाले वैदेशिक रोजगार बोर्ड र विमा कम्पनीबाट २० लाख रुपयाँ राहत रकम प्राप्त गरिन् । यो रकमबाट लालसा र उनका २ बालबच्चाको लालनपालनमा सहयोग सिद्ध भईरहेको छ । ऋण तिरेर बाँकी रहेको केहि रकम उनले भैंसीपालन व्यवसाय गरी रहेकी छिन् । भैसीपालनले अहिले राम्रो आम्दानी दिई रहेकोमा खुसी हुनुहुन्छ ─लालसा देवी ।

वैदेशिक रोजगारबाट प्राप्त रकम अधिकतम नेपालीहरुको मुख्य आम्दानीको श्रोत बन्न पुगेको छ । तर यसरी पैसा कमाउन वैदेशिक रोजगार जानुपूर्व आफुले गर्ने काम, सो काम गर्न आवश्यक सिप, थाहा पाउनु पर्ने कुरा, गन्तव्य मुलकमा बोलिने भाषा, त्यहाँको रहनसहन आदिका बारेमा आधारभूत ज्ञान समेत नहुदाँ धेरै नेपाली कामदारहरु समस्यामा पर्ने गरेका छन् । यसैगरी गन्तव्य मुलुकमा समस्यामा परेमा कहाँ, कसलाई सम्पर्क गर्ने भन्ने जस्ता विषयहरुको जानकारी नपाउँदा नेपाली कामदारहरु ठगी र पीडामा परेका छन् ।

स्थानीय सरकार सञ्चाल ऐन, २०७४ ले स्थानीय तहमा नै रोजगार सेवा केन्द्रको स्थापना गर्ने र वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित बनाउन आप्रवासी श्रोत केन्द्रहरु सञ्चालन गर्ने व्यवस्था गरेको छ । स्थानीय स्तरमा हुने आप्रवासी श्रोत केन्द्रले स्वदेशमा उपलब्ध तालिम तथा रोजगारका अवसरहरुको बारेमा जानकारी दिई स्वदेशमा नै रोजगार हुन प्रोत्साहन गर्ने र वैदेशिक रोजगारमा जाने सोच बनाएका व्यक्तिहरुलाई नेपाल सरकारको विद्यमान प्रावधान, जाने प्रकृया, अपनाउनु पर्ने सावधानी, सम्भावित ठगीबाट जोगिने उपायहरु र समस्या परेमा सम्पर्क गर्नु पर्ने निकायहको विवरण उपलब्ध गराउने गर्दछ । यसैगरी विभिन्न निकायहरुको सहयोगमा ठगीमा परेका, गन्तब्य मुलुकमा समस्यामा परेका, मृत्यु अंगभंग भएका व्यक्ति तथा उनका परिवारहरुलाई न्याय दिलाउन र राहत, क्षतिपुर्ति उपलब्ध गराउन सहजीकरणको भूमिका निभाईरहेका छन् ।

आप्रवासी श्रोत केन्द्र तथा सूचना कक्षहरुमा दर्ता भएका केशहरु समाधान गर्नका लागि काठमाण्डौं स्थित सेन्टर फर माइग्रेशन एण्ड इन्टरनेशनल रिलेसन्स (सी.एम.आई.आर.) र पिपुल फोरम संस्थाले सहयोग पुर्यायाउने गरेको छ । आप्रवासी श्रोत केन्द्र तथा सूचना कक्षमा आएका सेवाग्राही र दर्ता भएका केशहरु समृद्धि आयोजनाको सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी दस्तावेजीकरण हुने गरेको छ । १४ वटा आप्रवासी श्रोत तथा सूचना केन्द्रहरुमा हालसम्म ३३५ वटा केशहरु दर्ता भई सो उपर काम भईरहेको छ, जसमा सबैभन्दा बढी ठगी र मृत्यु सम्बन्धी केशहरु रहेका छन् ।

बैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण अशक्त भएका व्यक्तिको बालबच्चाहरुलाई बैदेशिक रोजगार बोर्ड मार्फत छात्रवृति पनि प्रदान गर्ने गरेको छ । यसरी छात्रवृति पाउने सम्भावित व्यक्तिहरुलाई आप्रवासी श्रोत केन्द्र तथा सूचना कक्षले जानकारी प्रदान र प्रकृयागत सहयोग पुर्याएको छ । गन्तव्य मुलुकमा समस्या परेकाहरुलाई उद्वार गर्न, मृत्यु भएकाहरुको शव ल्याउन र पीडितहरुले पाउनु पर्ने राहत तथा क्षतिपुर्ति रकम प्राप्त गर्न सम्बन्धित निकायहरुको सहयोगमा आप्रवासी श्रोत तथा सूचना केन्द्रहरुले मद्दत गरिरहेका छन् ।

साउदी अरबमा श्रीमान् रमेश घिसिङको मृत्युको खबरले अतालिँदै धनकुटा आप्रवासी श्रोत केन्द्रमा आइपुगेका पाख्रिवास–९, धनुटाका सुखमाया घिसिङले श्रोत केन्द्रको सहायताले उनको आँसु विलाउन सकिन् । श्रोत केन्द्रको सहजीकरणले उनको श्रीमानको शव घरमा नै आई पुग्यो । साथै उनको श्रीमानले काम गरेको कम्पनीबाट ८ लाख ४१ हजार रकम समेत प्राप्त गरिन् । जसले हाल उनको घरवार चलाउन र बालबच्चाहरुलाई पढाउन सहज भएको छ ।

विश्वभर फैलिएको कोभिड–१९ महामारबाट नेपाली कामदारहरु पनि अछुतो रहन सकेनन् । हजारौं नेपाली कामदारहरुले प्रभावित हुने तथा रोजगार गुमाउने क्रम जारी रहेको छ । गन्तव्य मुलुकमा यस्ता समस्या भएका नेपाली कामदारहरुले घरफिर्तीका लागि समेत आप्रवासी श्रोत तथा सूचना कक्षहरुले सहयोग पुर्यारहेका छन् ।

बैदेशिक रोजगारमा जान चाहेका र विभिन्न समस्या पीडित व्यक्तिहरुको सहायताका लागि आप्रवासी श्रोत तथा सूचना कक्षहरु सहयोग सिद्ध भएका छन् । समृद्धि आयोजनाले युवा लक्षित सीपमुलक तालिम, वित्तीय शिक्षा प्रदान गरी रोजगार योग्य बनाउने तथा कृषि उत्पादनहरुको आपूर्ति श्रृंखला मजवुद बनाई स्वरोजगार हुन सहयोग पुर्याईएको छ । आगामि दिनमा आप्रवासी श्रोत तथा सूचना केन्द्रहरुले वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरुलाई स्वदेशमा नै रोजगार हुनका लागि सम्पर्क समन्वयको कार्य गर्नेछ ।

 

Recent News

Mr. Shalik Ram Dahal

Project Manager
Project Management Office(PMO)
Itahari-Sunsari 025-476476 Ex No. 201 Liasion Office(Lalitpur): 01-5535488
pm.rerp@moics.gov.np

Mr. Ajay Bartaula

Account Officer(Spokesperson)
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202 Liasion Office 01-5535488
account.rerp@moics.gov.np

भुक्तानीका लागि प्राप्त विलहरुको सार्वजनिकरण

Copyright RERP | SAMRIDDHI © 2020