नौ महिना अघि कोरोना संक्रमण देखिएपछि १४ दिन कतारमै क्वारेन्टाइन बसेर नेपाल फर्केका सुन्दरहरैँचा ६ मोरङ्गका ३२ वर्षीय राजीव चापागाईं (तस्वीरमा चश्मा लगाएका) हाल इटहरीमा समृद्धि आयोजना अन्तरगत ब्रिलियन्ट म्यानपावर ट्रेनिङ सेन्टर मार्फत् सञ्चालित इन्डियन कुकको तालिम लिइरहेका छन्। एसएलसी सकेर काठमाण्डौँमा प्लस टु पढ्दै गर्दा एक ट्राभल एजेन्सीमा काम गर्न सुरु गरेपछि पढाइ छाडेका उनले युएइमा रनरका रुपमा एकवर्ष र त्यसपछि कतारमा वेटरका रुपमा छ वर्ष काम गरे। कतार रहँदा आफ्नो कमाइ सन्तोषजनक नै रहेको र हाल कतारमा सोही कम्पनीमा वेटरकै रुपमा जान चाहे सम्भव रहेको तर अन्तर्राष्ट्रिय स्तरमा वेटरमा ३५ वर्षमाथि उमेरका व्यक्तिको कम सम्भावना रहने हुँदा आफूलाई कतार फर्कन मन नरहेको उनी बताउँछन्। नेपाल फर्केपछि खेतीकिसानी कै काममा बुबाआमालाई सामान्य सहायता गरिरहेका उनले फेसबुक मार्फत् यस निःशुल्क तालिम तथा सीप परीक्षणको प्रमाणपत्र समेत पाइने जानकारी पाएपछि भने वेटरबाट कुक बनेर आफूलाई अपग्रेड गर्ने चाहना बढेको बताउँछन् ।
तालिम पश्चात् थोरै भएपनि लगानी जुटाउन सके स्वरोजगार मै रुचि रहेको बताउने उनी सो सम्भव नहुन्जेल भने कतै कुकका रुपमा रोजगारी गरी तालिममा सिकेको सीपलाई थप निखार्ने सोचाइ रहेको बताउँछन्। घरमा बुबाआमा, श्रीमती र एक बहिनी भएका उनको परिवारको गुजारा चल्ने खेतबारी रहेको र आफूले विदेश रहँदा कमाएको रकम घर मर्मत, नियमित पारिवारिक तथा स्वास्थ्य उपचार र बहिनीको पढाइ लगायतमा खर्च भएकोले हाल खासै बचत नरहेको प्रसङ्ग जोड्छन्। केही समय सोचमग्न रहेर उनी “वैदेशिक रोजगार चाहिँ अन्तिम विकल्प मात्र हो अब” भन्छन्। “आफ्नै व्यवसाय सुरु गर्न कम्तिमा पनि चारदेखि पाँचलाख रकम त लाग्छ, त्यसको लागि परिवार, आफन्त र साथीभाइको सहयोग रहला कि! ’ भन्ने आश गर्छन् उनी । बैंक वा वित्तीय संस्थासँग हालसम्म प्रत्यक्ष कारोवार नगरेको भएपनि तालिम पश्चात् भने ऋणका लागि प्रयास गर्नुपर्छ भन्ने लागेको उनी बताउँछन् ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) अन्तर्गतको सहसंभाग १.३ मर्यादित रोजगारीले स्थानीय स्तरमै रोजगार बन्न वा उद्यमी बन्नका लागि आवश्यक सीप प्रदान गर्ने लक्ष्य बोकेको छ, जसको लक्षित लाभग्राहीमा वैदेशिक रोजगारीबाट फर्केकाहरु वा उनीहरुका परिवारका सदस्यहरु वा वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका सदस्य समेत रहेका छन् ।