विदेश जानै पर्दैन, बरु बेलैमा सिप सिकौँ
शम्भु बिष्टको घर मोरङको बुढीगंगा गाँउपालिका वडा १ मा पर्दछ । केही वर्ष पहिलासम्म बुवा ज्याला मजदुरी गर्ने, आमा गृहणी भएको उनका घरमा बुवाको ज्यालादारीले ६ जनाको परिवारको खर्च धान्न ज्यादै नै गार्हो थियो । थोरै जग्गाको उत्पादनले जेनतेन गुजारा चलिरहेको थियो । आमा र दिदी बहिनीहरू घरको काम र सानो करेसाबारीमा व्यस्त हुँदा उनी पनि सहयोगी बन्थे तर त्यसरी सानो करेसाबारीमा काम गरेर नचल्ने देखेपछि शम्भु काम खोज्दै पहिलो पटक सन् २०१० मा कतार पुगे । घरपरिवारबाट टाढा बस्न मन नलागेर र साथै आफ्नै गाँउठाँउमा फर्की छुटेको पढाइ पुनः अघि बढाउने उद्देश्य बोकेर उनी सन् २०१२ मा कतारबाट घर फर्किए । नेपाल फर्किएपछि उनले व्यवस्थापन संकायको १० जोडा २ मा भर्ना त लिए तर नियमित रुपमा उतिर्ण हुन भने सकेनन् । उनलाई १२ कक्षा उतिर्ण गर्न ५ वर्ष नै लाग्यो । विदेशको काम पनि त्यागेर आएको अनि यता पढाइमा पनि सफल हुन नसक्दा उनलाई ज्यादै नै तनाव हुन थाल्यो । उनी दुःखेसो पोख्दै सुनाँउछन‚ “बुवाको ज्यालादारीको आम्दानीले छाक टार्न हम्मे पर्दथ्यो । घरमा खान दिने र सत्कार गर्ने कुरा नभएकाले पाहुनाहरू नआइदिए हुन्थ्योजस्तो लाग्थ्यो । अरूले मीठो खाएको र राम्रो लगाएको देख्दा आफूले पनि त्यस्तै पाँए हुन्थ्यो भन्ने सोच्थे । आय नभएकाले मन कुँडिन्थ्यो ।”
उमेर बित्दै गैरहेको तर रोजगार केही नपाएपछि पुनः उनी सन् २०१९ मा कतार गए । कतारमा सोचे भन्दा साह्रै थोरै तलब मिलेपछि तीन महिनाको विदेश बसाइ पछि नै फेरी फर्कन बाध्य भए उनी । नेपाल फर्किएकै समयमा नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईफाड) बिच सम्झौत भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सञ्चालित समृद्धि आयोजना अन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा ब्रिलियन्ट म्यानपावर ट्रेनिङ सेन्टर नामको संस्थाले इन्डियन कुक विषयमा तालिम दिन लागेको उनले थाहा पाएँ । “आवेदन त दिए । छानिन्छु कि छानिन्न भन्ने डर थियो । धन्न छनौटमा पनि परिएछ । म जस्ता २० जना युवाहरुले लेभल– १ को तालिम लियौ । सुरुसुरुका दिनहरुमा तालिम एकदमै कठिन जस्तो लाग्यो । बिस्तारै बानी परियो । तालिम सकिँदासम्म त धेरै कुराहरु सक्न पाएकोमा दंग भयौं ” उनी सम्झन्छन् ।
शम्भुलाई तालिम सकिएलगत्तै सिपको सदुपयोग गर्न काम खोज्न हतार भइरहेको थियो र तीनपैनी चोक बिराटनगरमा मोहन गौशाला युनिक होटलमा काम पनि पाए । त्यहाँ उनले रु १५,००० प्रति महिनाको हिसाबले तीन महिना काम पनि गरे । उक्त होटलका साहु होटल बन्द गरेर भारत गएपछि उनी एक जना परिचितको माध्यमबाट प्रदेश एकका प्रमुखको क्वाटरमा करारमा कुक भएर काम गर्न शुरु गरे । “यहाँ मेरो तलब सरकारी स्केल अनुसार रु १९,२०० प्रति महिनाको छ । यो कुराले मलाई निकै खुसी बनाउँछ । पहिलापहिला आफ्नो व्यक्तिगत खर्च पनि घरमा माग्नु पर्दथ्यो । अहिले दुई–चार हजार रूपैयाँ साथमा टुट्दैन । साथीभाइलाई आवश्यक परेका बेला सापटी दिएर सहयोग गर्ने हैसियत पनि बनाएँको छु । मेरो कामबाट परिवारका सबै सदस्यहरु खुसी छन्” उनी गर्वका साथ भन्छन् ।
रोजगार पाइसकेपछि उनले २०७७ बैशाखमा विवाह गरे । हाल उनकी श्रीमती पनि उनले जागिर गरिरहेको ठाँउमा नै काम गरिरहेकी छिन् । जागिर कति समयसम्म चल्छ त्यसको भर नहुने भएकाले केही रकम बचत गरि आफ्नै पेसासँग सम्बन्धित व्यवसाय शुरु गर्ने भन्ने उनको आगामी योजना रहेकोछ । उनी अन्त्यमा भन्छन‚ “ समृद्धि आयोजनाले उपलब्ध गराएको तालिमले मेरो सपना पूरा भएको छ । धेरै युवाहरु बेरोजगार हुनुको पीडा भोगिरहेका छन् । उनीहरु रोजगारीको खोजीमा विदेश गएर धेरै दुःख पाइरहेका छन् । उनीहरुले पनि उपयुक्त सिप पाएर रोजगार हुने अवसर पाँउनुपर्दछ । सिप भए नेपालमै थुप्रै अवसर छन् । ठूलो रकम खर्चेर केही हजार कमाउनका लागि बाहिर जानु पर्दैन । यही रोजगारी पाइन्छ । बरू बेलैमा रोजगारमूलक सिप सिकौँ ” उनी भन्छन् ।