RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

अब फेरी वैदेशिक रोजगारमा किन जानु पर्यो र ?

सर्लाही जिल्ला लालबन्दी नगरपालिका प्रगति टोलका २९ वर्षीय बालकृष्ण चौलागाई एस एल सी सम्मको अध्ययन पछि आफ्नो पढाइ स्थगन गर्न वाध्य भए । “मलाई एसएलसी पछि अध्ययन गर्ने इच्छा नभएको होइन तर घरको आर्थिक अवस्थाले साथ नदिएपछि  अगाडि  पढ्न सम्भव भएन ” उनी  भन्छन । परिवारमा  दरिलो आम्दानीको श्रोत नभएकाले उनले वैदेशिक रोजगारीमा जाने निधो गरे । त्यसको लागि पासपोर्ट लगायत आवश्यक कागजातहरुको तयारी गरी केही रकमको बन्दोबस्त भए पश्चात ई.सं. २०१७ मा मलेशिया उडे । मलेशियामा एउटा स्टील कम्पनीमा काम पाए र २ बर्ष निकै कठिन संघर्ष गरे । उनले कम्पनीमा अदक्ष कामदारको रुपमा काम गर्नु पर्दाको दुःख अझै बिर्सेका छैनन । त्यहाँ कडा परिश्रम गरेर पनि ज्याला धेरै कम पाइन्थ्यो । त्यसैले २ बर्षपछि उनी स्वदेशमै फर्किए ।

स्वदेश फर्किसकेपछि १ बर्ष कामको खोजीमै बिताए । कामको खोजी मै भएका बेला उनले राष्ट्रिय साप्ताहिक खबरपत्रिका चियोचर्चोको २०७६ साल बैशाख २ गतेको अंकमा लालबन्दीमा हुने विल्डिङ्ग इलेक्ट्रिशियन तालिम लिन इच्छुक तथा वेरोजगार युवाहरुलाई आवेदन दिन आह्वान गरेको विज्ञापन देखे । त्यो विज्ञापन पढेपछि बालकृष्णले  आफ्नै गाँउको एकजना साथीले मलेशियामा  हाउस वायरिङ्गको काम गरेर राम्रो आम्दानी गरिरहेको देखेको सम्झे ।  उनले गाँउका जान्नेसुन्ने साथीहरुबाट  पनि प्राविधिक तालिमको माध्यमबाट  स्वदेश तथा विदेशमा  राम्रो आर्जन गर्ने मौका पाइन्छ भन्ने सुनेका थिए । यी देखेका अनि सुनेका कुराहरुको प्रभावले होला उनलाई उक्त तालिममा सहभागी हुन पाए हुन्थ्यो लाग्यो । उनले तालिमका लागि आवेदन दिए । छनौटका प्रकृयाबाट छानिए पनि । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईफाड) को आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी पोलिटेक्निक इन्ष्टिच्युटद्वारा स्थानीय सरकारसँगको समन्वयमा  उक्त तालिम २०७६ साल जेठ २ गतेदेखि लालबन्दी बजारमा सुरु भयो ।

उनी तालिममा नियमित रुपमा सहभागी हुदै प्रशिक्षकहरुले सिकाएको हरेक गतिविधिमा सक्रिय भएर भाग लिन थाले । “तालिममा सैद्धान्तिक र प्रयोगात्मक कक्षा सँगसँगै संचालन गरी सिकाउने भएकोले थोरै समयमा आधारभूत र महत्वपूर्ण कुराहरुको राम्रो सिकाइ भयो” उनी तालिम सम्झदै भन्छन ।

२०७६ साल साउन १५ गते तालिम पूरा गरिसकेपछि बालकृष्णले लालबन्दी बजार आसपासमा हाउस वायरिङ्गको काम सुरु गरिहाले । सुरुमा दैनिक सरदर रु. ७०० आम्दानी हुन्थ्यो । पछि उनको आम्दानी बढ्दै गयो । आफ्नो  आम्दानीबाटै  उनले लालबन्दीमा एउटा  घडेरी पनि जोडिसकेका छन् । उनी हास्दै भन्छन,  “म यो पेसामा लागेर आफ्नै गाँउघरमा नै राम्रो कमाइ गरिरहेको छु । अब मैले वैदेशिक रोजगारीमा जाने त कुरै आउदैन होइन ?

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020