RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

तालिम नै बन्यो आशाको किरण

उदयपुर जिल्ला गाईघाट घर भएकी सिलु समल मगर ३४ वर्षकी एकल महिला हुन् । केही वर्ष पहिले श्रीमान तथा घर परिवारसँग सल्लाह गरेर आफ्ना दुई छोराहरुलाई पढाउन भनि उनी गाईघाट बजारमा बसिरहेकी थिइन् । डेरा गरेर बजारमा बस्दा  श्रीमानले कमाएर पठाएको पैसाले छोराहरुलाई पढाउन जसोतसो पुगिरहेकै थियो । सामान्य ढंगले चलिरहेको सिलुको जीवनमा २०७१ सालमा एक्कासी ब्रजपात पर्नगयो कारण थियो उनको श्रीमानको मृत्यु । श्रीमानको  मृत्युको कारणबारे बुझ्न खोज्दा उनी भावुक हुँदै भन्छिन, “खै के भएछ ? व्यारेक भित्र काममै हुनुहुन्थ्यो ।  बेलुका सुत्दा ठिकै थियो रे वहाँलाई । विहान उठ्दा बितेको भेटिनुभयो  भन्ने खबर पाए” । त्यसपछि उनलाई साहारा विहीन  भएर बसेको देखेर देवर देउरानीले उनीहरुको गाईघाटको बोक्से स्थित घर मै आएर बस्नु भनेपछि सिलु र उनका दुई छोराहरुलाई  ओत लाग्ने छाप्रो भेटाए झै भएको थियो । “घरमुली नै नभएपछि हाम्रो त खान लाउन पनि बन्द भएको अवस्थामा देवर देउरानीले ठूलो गुण लाउनु भयो” उनी भन्छिन् ।

बास बस्ने ठाँउ त मिल्यो तर तीन जनाको परिवारलाई हातमुख जोड्न र साथै छोराहरुका लागि  पढाइ लेखाइको व्यवस्था मिलाउने जिम्मेवारी पनि अब सिलु माथि नै आइपर्यो  । यस अघि घरयासी काम मात्र गरेकी सिलुलाई कमाइ हुने कुनै न कुनै काम गर्नुपर्ने बाध्यता आइलाग्यो । आफ्नो गुजारा चलाउने हेतुले उनले  देउरानीसँग मिलेर सुँगुर पालन र जाँड बनाउने काम पनि गरिन्। तर उनलाई र उनकी देउरानीलाई यो विषयको खासै ज्ञान नभएकाले उनीहरुलाई उक्त कामबाट फाइदा हुन सकेन् । काममा घाटा हुँदा घर खर्च चलाउन देवर देउरानीमाथि नै निर्भर हुनु पर्ने अवस्था  आइलाग्यो   । देवर देउरानीको पनि आफ्नै जिम्मेवारी र त्यसमाथि  मनग्य कमाइ नभएकाले पर्दा वहाँहरुका लागि आफू र आफ्नो परिवार थप  बोझ हुनु परेकोमा नरमाइलो  लाग्थ्यो । यस्तो परस्थितिमा सिलुलाई आम्दानी हुने कुनै न कुनै काम नगरी नहुने भएको थियो  । काम पाँउनका लागि  न उनीसँग पढाइलेखाइ थियो न त  कुनै  सिप । उनी के गरुँ भन्ने रनभुल्लमा भएका बेला  उनी  चिनजानकी दिदीको  ब्युटी पार्लरमा दुःखसुख पोख्न भनि जान थालिन् ।  त्यहाँ जादै गर्दा उनको मनमा  व्युटी पार्लर सम्बन्धि काम सिक्ने इच्छा पलायो  तर उनीसँग उक्त सिप सिक्न चाहिने पूँजीको भने अभाव थियो ।  उनको जीवनमा यस्तै समय चलिरहेकै बेला गाईघाट बजारमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोग उद्योग बाणिज्य तथा आपूर्ति  मञ्त्रालयबाट संचालित समृद्धि आयोजना अन्तर्गत हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा जीभ क्यारियर ईस्टिच्यूट प्रा.लि.द्वारा असिसटेंट ब्युटीसियन बिषयको ६५ दिने तालिम निःशुल्क रुपमा संचालन गर्ने भनेर जीभ क्यारियर ईस्टिच्यूटको टोली उनकै परिचित दिदीको ब्यूटी पार्लरमा पुगेका रहेछन। उनको अनुभव योग्यता र रुचि मिलेका कारण तिनै दिदी नै तालिमको प्रशिक्षक बन्न गैरहेकी रहिछन् । उनले सिलुलाई पनि तालिममा सहभागी  बन्न  सुझाव दिईन् ।  सम्पूर्ण प्रक्रिया पूरा गरेर  सिलु पनि तालिमका लागि  छनौंट भईन् । सीप राम्रोसँग सिक्ने तथा सीपलाई व्यवसायिक बनाई आम्दानी गर्नु पर्ने बाध्यता सिलुलाई अरु सहभागीको भन्दा तुलनात्मकरुपमा बढी थियो । त्यसैले उनले नियमित तालिममा सहभागी भएर हरेक सीपहरु मेहनत र रुचिका साथ सिक्दै  ६५ दिनको असिसटेण्ट व्युटिसियनको तालिम सफलतापूर्वक सम्पन्न गरिन् ।

तालिम पछि अरुको पार्लरमा काम गर्नु भन्दा आफ्नै पार्लर खोलेर व्यवसायी बन्ने ईच्छा थियो उनको । तर आफूसँग लगानी गर्ने पर्याप्त पैसा थिएन् । तैपनि उनले आफन्तहरुसँग सर–सापट गरेर रु. १५००० जम्मा गरिन् अनि पार्लरलाई चाहिने सामानहरु जस्तैं थ्रोडिङ्ग चियर, फेसियल चियर र कटिङ्ग चियर आदि श्रृजना दिदीको पहलमा घरेलु तथा साना उद्योग कार्यालयबाट निःशुल्क रुपमा प्राप्त गरिन् ।  यसरी तालिम सिद्धिने बितिक्कै सिलुले  आफ्नै नाममा पार्लर खोलिन र उनी व्यवसायी बनिन् । हाल उनी गाईघाट बजारमै भाडामा कोठा लिएर आफ्ना १० तथा ६ वर्षिय दुई छोराहरुको लालनपालन र पढाइलेखाइ गर्न सक्षम भएकोमा खुसी भएकिछन् । उनी आफ्नो खुसी व्यक्त गर्दै  भन्छिन्, “म चारैतीरबाट निराशाले घेरिएको बेला यो तालिम मेरा लागि आशाको किरण बनेर आइदियो । अहिले मलाई आफ्ना छोराहरुलाई के खुवाऊँ,  कसरी पढाऊँ भन्ने चिन्ता छैन् ।  अब यो भन्दा पनि माथिल्लो  स्तरको सिप सिकेर मेरो यस  व्यवसायलाई बिस्तार गर्ने योजना बनाएकिछु” ।      

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020