सिप हाँसिल गरेपछि विदेशिनु परेन
बागमती–५, सर्लाहीका ४२ बर्षिय हस्त बहादुर अधिकारी कुवेतमा छ बर्ष कार्यालय सहयोगीको रुपमा काम गरी २०७४ सालमा नेपाल फर्केका थिए । यस अघि उनी सर्लाहीमा खेतीपातीको काममा मजदुरी गर्थे । नेपाल फर्के पछि पनि न त खेतिपातीको आम्दानीले घरव्यवहार धान्न सजिलो थियो न कुनै काम गरि खानका निम्ति सीप नै थियो । पाँच जनाको परिवार र तीन जना बालबच्चाहरुको पढाइ खर्च कसरी धान्न भन्ने चिन्ताले उनलाई दिनरात सताइरहेको थियो उनीलाई । फेरि पनि विदेशीनी नै सोचाइ बनाए उनले । तर यो पटक विदेश जान त्यति सजिलो भएन् । काठमाण्डौका म्यानपावर कम्पनीले कुनै सिप विना विदेश पठाउन नमाने पछि यो प्रयास उनका लागि निर्थक साबित भयो ।
२०७६ बैशाख को अन्तिम सातातिरको कुरा हो । उनी चौतारीमा बसिरहेको बेला गाउँकै एक जना साथीले उनीहरुकै गाँउमा जुनियर प्लम्बर तह–१ को निःशुल्क तालिम संचालन हुन गैरहेको र त्यसमा सहभागी हुनका लागि आफू आवेदन दिन जान लागेको कुरा अवगत गराए । हस्त बहादुरलाई यो कुरा थाह पाँउदा ‘ढुंगा खोज्दा देउता भेटे झैं लाग्यो । उनै साथी संगै वडा कार्यालयमा पुगेर उनले पनि आवेदन फाराम भरे । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वयवस्थापनमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र वर्ड वाइड टेक्निकल तालिम प्रा. लि. ले गाउँमै यो अवसर जुटाएको थियो ।
शुरुमा तालिम नै नहुने हो कि भन्ने अशंका थियो । प्लम्वरको पनि तालिम हुन्छ र भन्थे मानिसहरु । ४० वर्ष कटेका उनलाई अर्को डर थियो कतै उमेर हदबन्धीका कारण तालिम लिन नपाइने पो हो कि भन्ने । तर अन्ततोगत्वा उनी तालिमका निम्ति छनौट भए । आवश्यक तयारी र प्रकृया पुरा भएपछि गाउँकै एक सामुदायिक भवनमा २०७६ जेष्ठ १२ गतेबाट जुनिएर प्लम्बर तह–१ को ६५ दिने तालिम शुरु भयो ।
बैदेशिक रोजगारीको क्रममा विभिन्न हण्डर खाएका हस्त बहादुरले लगानशिलताका साथ सीप सिके । ६५ दिने तालिम सिद्धिएको उनलाई पत्तै भएन । मुख्य प्रशिक्षक र सह–प्रशिक्षकले सिकाइमा कुनै कमि हुन दिएनन् । चाहे कक्षा कोठामा हुने सैद्धान्तिक कक्षा होस वा वर्कसपमा हुने प्रयोगात्कम कक्षा होस उनले खुव मेहनतका साथ सहभागिता जनाए । वास्तविक कार्यस्थलमा समेत प्रयोगात्मक काम (ओ.जे.टी.) गरेर सिक्ने अवसर पाएका थिए उनले । यसले ग्राहकको प्रतिक्रिया र सन्तुष्टि बुझ्नमा मद्दत पुर्याएको थियो । सिक्दा कुनै शुल्क तिर्नु नपरेको र खाजाको समेत व्यवस्था आयोजकले नै गरेकोले आफ्नो खर्च नभएको उनी बताउँछन् ।
“म बैदेशिक रोजगारीमा दुःख पाएको मान्छे । मलाई परिश्रम गर्न कुनै अप्ठ्यारो लाग्दैन । त्यसमा पनि परिवारसँगै बसेर मेहनत गर्दा त झन कुनै समस्या नै हुदैन् नी ।” उनी उत्साही भएर बताउँछन् । तालिम पछि शुरुमा उनले व्यवसायिक कुखुरा फर्ममा पानीधारा र शौचालय जोडेर राम्रै आम्दानी गर्ने मौका पाए । अहिले आफ्नै गाँउका घरहरुमा धारापानी जोड्ने काम गरिरहेका छन् । उनलाई दैनिक कम्तिमा रु.५०० सय कमाई गर्न कुनै समस्या छैन । कहिलेकाही त संगै तालिम लिएका ३÷४ जना साथीहरुलाई समेत संगै काममा लैजाने गर्दछन् उनी ।
उनले प्रशिक्षक धन सिह राजीसंगै काम गर्न सुर्खेत गएर काम गर्ने मौका पनि पाए । सुर्खेतमा प्रशिक्षकको निगरानीमा काम गर्दा सिपमा निखार आइ आम्दानी पनि बढेर दैनिक रु ९०० हुन थाल्यो । उनी निश्चितताका साथ भन्छन्, “बेल्चा समाउन नजान्ने हातले रेञ्चु चलाउन सिकिसकेपछि कमाइ त हुने नै त भयो ।”