ग्रामीण युवाले आधुनिक फेसन डिजाईनको सिप सिकेर सिलाई पेशालाई पुनर्जिवित गर्ने अवसर पाईन्
बलवा टोल, जनकपुरधाम, धनुषा बस्ने अन्नु झाको घरमा बर्षौदेखि सिलाइ मसिन थन्किएको थियो । उनकी आमाले घर खर्च कमाउन चलाएको सिलाइ मसिन आमाको आँखामा समस्या भए देखि चल्न बन्द भएको थियो । परिवारको घरखर्च आमाको कमाइमा चलिरहेको हुँदा आमाले काम गर्न नसक्ने भएपछि आर्थिक रुपले परिवार कमजोर हुँदै गयो । अन्नु घरपरिवारकी जेठो सन्तान भएकाले भाइ बहिनीको पढाइको खर्च तथा घरखर्चको जिम्मेवारी उनको काँधमा आइलाग्यो । उनलाई त्यो बेला ठूलो तनाव हुन्थ्यो जुन बेला घरमा कपडा सिलाइका लागि आएका ग्राहकहरुलाई आफूसँग सिप नभएका कारण उनले सेवा नदिकनै फर्काउनु पर्दथ्यो । उनले आमालाई सहयोग गर्दै सिकेको सिपको स्तर ग्राहकको आवश्यकता र मागलाई पूरा गर्न सक्ने किसिमको थिएन । पैसाको अभावले गर्दा एसएलसी सम्म मात्र पढेकी अन्नुले साधारण सिलाइ गरेर जेनतेन मासिक २–३ हजार कमाउन सकिरहेकी थिइन्। घरमा आयको अन्य स्रोत नहुँदा उनको सिमित आयबाट सहर बजारमा ५ जनाको परिवार चलाउन हम्मे–हम्मे भैरहेको थियो ।
एक दिन बलवा टोल मै फेसन डिजाईनरको तालिम खुलेको कुरा उनले साथीबाट थाहा पाइन् तर तालिममा सहभागी हुन आवेदन फारम सँगै अन्तरवार्ता पनि दिनु पर्ने कुराले तालिममा छनौट हुन्छु कि हुन्न भन्ने डर भने लाग्यो । तैपनि उनले आबेदन फारम भरिन् र छनौटमा पनि परिन् । “मैले सिलाउने काम त गर्थे तर साधारण किसिमको मात्र । फेसन डिजाईनरको सिप सिक्यो भने बजारको माग अनुसार डिजाइन कपडा सिलाउन सक्छु र आफ्नो आम्दानी पनि बढाउन सक्छु भनेर म तालिमलाई लिएर धेरै नै उत्साहित भए” अन्नुले बताइन् । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्रालयद्वारा सञ्चालित समृद्धि आयोजना अन्तर्गत २०७६ जेष्ठ १९ देखि भदौ १ सम्म संचालित फेसन डिजाइनरको तालिममा उनी सहभागी भइन् ।
तालिम सकिए लगतै अन्नुले आमाले छोड्नुभएको सिलाइकटाइको कामलाई नयाँ तरिकाले सुरुवात गरिन् । यसरी उनले आमाले छोड्नु भएको सिलाइकटाइको काम सेलाउनै लागेको बेला फेसन डिजाईनरको तालिम लिई त्यसलाई पूनर्जिवन दिन सकेको मात्र नभई डिजाईन सहितको सिलाइको सिपका कारण धेरै ग्राहकको मन जित्न नि सफल भएको कुरा उनी खुसी हुदै सुनाँउछिन् । “अहिले मेरो कमाइ नै घरको आम्दानीको मुख्य स्रोत भएको छ । यही पेसाबाट घरखर्च, भाइबहिनीको पढाइ खर्च, आमाको आँखाको उपचार खर्च चलिरहेको छ । यो सबै मैले समृद्धि आयोजनाले प्रदान गरेको सिपका कारण सम्भव भएको हो” अन्नु भन्छिन् ।