RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

‘पैसाको लोभ नगर् छोरा, चाँडै घर फर्क’

प्रभातकुमार वर्मा/बारा 

 

सानो टहरा । वर्षातमा पानी पर्दा चुहेर भित्र बस्नै गाह्रो हुन्छ । जुन टहरालाई पक्की घर बनाउने सपना थियो । जुन सपना बाेकेर परदेश जानुभएको थियो राजेश । आज ८ वर्ष बित्दा पनि त्यो टहरामा त्यसैगरी पानी चुहुन्छ । त्यसैगरी ओत लाग्न गाह्रो हुन्छ ।

नेपाल-भारतका नाकाहरुमध्ये एक नाका बारा मटिअर्वाको दशगजा नजिकै छ राजेश साहको घर । अहिले उहाँ ३२ वर्षको हुनुभयो । २४ वर्षको उमेरमा राजेशले परदेशको बाटो तताउनुभयो । सपना धेरै थिएनन्, पक्की घर लगाउने, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने र परिवारलाई खुशी दिने । यही सपना बोकेर परदेश हिँडेका राजेश ८ वर्ष भयो, परदेशमै बसेको । 

परदेश गएका श्रीमान कहिले घर फर्किन्छन् भनेर कुरिरहेकी हुन्छिन् राजेशकी श्रीमती रीना साह । छोराको बाटो हेर्दा हेर्दा आँखा थाकिसकेका छन् आमा भागरथी देवी र बुवा लङ्टु साहका । बुवा घर फर्किने आशैमा विद्यालय जान्छन् राजेशका छोराछोरी र त्यही आश बोकेर फर्किन्छन् घर ।

गुजारा चलाउन परदेश

नेपाल र भारतको सीमानामा घर भएर होला भारतबाट सामान ल्याएर बेचेर गुजारा गर्नु राजेशको परिवारको मुख्य पेशा थियो । राजेशले पनि त्यही सिक्नुभयो । त्यही क्रममा उहाँको पढाइ कक्षा ८ भन्दा माथि बढ्न सकेन । १६ वर्षको उमेरमा बिहे भयो । छोराछोरी भए । जिम्मेवारी बढ्यो । भारतबाट सामान ल्याएर बेचेर गुजारा चलेन ।

कहिले मजदुरी त कहिले केही काम गर्दै बिहे भएको आठ वर्ष बित्यो । घरमा एक बिघा खेत हुँदा हुँदै पनि साथीहरुको लहलहैमा लागेर परदेश जाने सोच्नुभयो राजेशले । सन् २०१३ मा दुई लाख पचास हजार रुपैयाँ एजेण्टलाई बुझाएर सामान्य कामदारको रुपमा राजेश यूएई जानुभयो । 

‘हामीहरुले त यहीँ काम गर, जग्गा छ भनेका थियौँ, तर कुरा मानेन, गइहाल्यो परदेश’, राजेशकी आमा दुःख पोख्नुहुन्छ । 

विदेश ग्एर नराम्रो त भएन राजेशलाई । कमाई राम्रै थियो, समय समयमा घरमा पैसा पठाइरहनुहुन्थ्यो । घरपरिवारसँग पनि नियमितजसो कुराकानी भइराख्थ्यो । यसै गरी ५ वर्ष बिते । बिस्तारै राजेशले पैसा पठाउन छोड्नुभयो । घरमा कुराकानी पनि कम हुँदै गयो । त्यसपछि घरपरिवारको राजेशसँग सम्पर्क नै बन्द भयो ।

अवैधानिक हुँदा दुःख

राजेशले घरमा सम्पर्क गर्न छाडेपछि गाउँलेहरुले कुरा काट्न थाले । रीनाको श्रीमान्ले अर्कै बिहे गर्यो सम्मका कुरा गर्न थाले गाउँलेहरु । यसले रीनालाई मात्र नभएर उहाँको परिवार र छोराछोरीलाई पनि निकै पीडा दियो ।
‘श्रीमानले विदेशम अरुसँगै घरजम गरिसक्यो, त्यहि भएर नआएको होला, यस्तो परिवारको छोरीसँग कसले बिवाह गर्छ भनेर कुरा काट्छन् गाउँमा’, यसो भनिरहँदा रीनाको आँखाबाट बर्बर्ती आँशु झर्छन् । 

राजेश र रीनाकी छोरी १६ वर्षकी भइन् । कक्षा १० मा पढ्छिन । यो उमेरमा बुवाको साथ नपाउँदा उनको मनलाई पनि पीडाको पहाडले थिचिरहन्छ । परिवारप्रति गाउँलेहरुको हेराइ पनि राम्रो नभएको राजेशकी आमा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘गाउँका मानिसले छोरा नभएर नराम्रो नजरले हेर्ने गर्छन, छरछिमेकले चाहे जस्तो न बोल्न दिन्छन न गर्न सकिँदो रहेछ ।’

समय बित्दै गयो । तर पनि आफ्नो श्रीमानले त्यसरी अर्को बिहे गरेर बसेकोमा भने रीनालाई विश्वास नै लाग्थेन ।  

‘छोराछोरीको माया मारेर अर्को बिहे गरेर बस्यो होला भनेर मलाई विश्वास नै थिएन’, रीना झरेका आँशु पुछ्दै भन्नुहुन्छ, ‘उहाँले साथीहरुबाट धोका खानुभएछ त्यहाँ, त्यसैले हामीसँग फोन गर्न नमान्नुभएको होला ।’

यो कुरा राजेशको परिवारले केही दिन पहिले मात्र थाहा पायो । तीन वर्ष घरमा पैसा नपठाएर त्यहाँ साथीसँग साझेदारीमा व्यापार गरेको भन्ने बुझिएको छ । यूएईमा अवैधानिक भएर बसेका कारण पनि समस्या भएको हो कि भन्ने परिवारको शंका छ । 

आप्रवासी स्रोत केन्द्रको साथ

राजेशको अवस्थाको बारेमा बुझ्न आप्रवासी स्रोत केन्द्रले सहयोग गरेको छ । राजेशको परिवारले कलैया उपमहानगरपालिकामा गएर राजेशको खोजी गरिदिन आग्रह गरेपछि नगरपालिकाले आप्रवासी स्रोत केन्द्रलाई जानकारी गरायो ।

कलैया उपमहानगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाको साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्रले राजेशको बारेमा जान्ने प्रयास गर्यो ।

राजेशको व्हाट्सअप नम्बर भेटाएर श्रोत केन्द्रले राजेशसँग कुरा गर्यो । त्यसपछि राजेशको परिवारसँग पनि कुराकानी भयो । त्यस कुराकानीमार्फत राजेशले तीन वर्षदेखि साथीसँग साझेदारीमा व्यापार गरेको भन्ने बुझियो । भएभरको पैसा बजारमा लगानी गरेको तर कोरोना महामारीमा लकडाउनका कारण त्यो पैसा उठान बाँकी रहेको थाहा भयो । 

तर राजेशले फँसेको पैसा नउठाएसम्म घर नफर्किने बताउनुभयो । लामो समयसम्म सम्पर्कमा नआएका राजेशले सम्पर्कमा आएपछि पनि यस्तो कुरा गर्दा परिवारमा झन् निराशा छायो । 

पछि श्रोतकेन्द्रका कर्मचारीले राजेशको घरमै गएर बुवाआमा, छोराछोरी र श्रीमतीको रुँदै गरेको, छोराछोरीले आफ्ना बुवालाई गुहार्दै गरेको भिडियो बनाएर राजेशलाई पठाए । त्यसपछि राजेशले दुई लाख रुपैयाँ पठायो भने घर फर्किन सक्ने जानकारी श्रीमतीलाई गराउनुभयो ।

तर राजेशले घर फर्किन्छु भनेर घरबाट पैसा मागेको यो पहिलो पटक भने होइन । तीन वर्ष पहिले पनि घर फर्किनको लागि भनेर डेढ लाख रुपैयाँ माग्नुभएको थियो । त्यतिबेला परिवारले ऋण काढेरै भए पनि डेढ लाख रुपैयाँ राजेशलाई पठायो । तर त्यसपछि राजेश झन् सम्पर्कविहीन हुनुभएको थियो ।

अहिले पनि राजेशलाई पठाउनको लागि उहाँको परिवारसँग त्यति धेरै पैसा छैन । पहिले पठाएको ऋण तिर्नै बाँकी छ । त्यसैमाथि राजेश फँसेको आफ्नो पैसा ननिकालेसम्म घर नआउने कुरा गर्नुहुन्छ । जसो तसो ऋण काढेर छोरालाई पैसा पठाए पनि फेरि आउने हो कि होइन भन्ने लाग्छ राजेशकी आमालाई ।

‘छोरा घर आउने दिन मेराे लागि सबैभन्दा ठूलो उत्सव हुने थियाे’​, लामो सुस्केरा तान्दै भन्नुहुन्छ, ‘पैसाको लोभ नगर् छोरा, चाँडै घर फर्क ।’

२०७७ चैत १५, आइतबार (March 28, 2021) उज्यालो अनलाईनमा प्रकाशित लेख

Link:https://ujyaaloonline.com/story/50837/2021/3/26/pain-of-migrant-worker-family?fbclid=IwAR2Q1EOYC_SYNhjENlzqjk3vPTkaJdq-bRjwnJjD2oTBbcT00q_GlMzBknI

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020