पौरखी परिवारको आफ्नै पाखुरी, आफ्नै रोजगारी

“समृद्धिले ज्ञान दियो बाख्राले धन दियो । मेरो त जागिर नै बाख्राको गार्ड गर्नु हो । बारी र खोर मेरो अफिस भाको छ । सालाखाला ५/६ लाख बर्षको कमाई भैहाल्छ¸ जागिरेले पनि कति पो तलब कमाउलान् र ” परिवारको साथमा बाख्राको हेरचाह गर्दै गीता राईका श्रीमान् अनुराग राई बताउँछन् ।

षडानन्द नगरपालिका १३ बोया बेखुम्चामा एउटा घर छ गीता र अनुरागको । सानो चिटिक्क परेको सफा घर, शौचालय र नजिकै खोलेचारो पकाउने कटेरो र भाँडा माझ्ने मचान अलि पर व्यवस्थित बाख्राको खोर छ । हुर्कदैं गरेका दुई छोरीहरु पनि बा-आमा भन्दा कम छैनन् । पढाइबाट फुर्सद हुने बित्तीकै बाबा आमालाई सघाउन पुगिहाल्छन् । गीता राई षडानन्द नगरपालिका १३ बोया स्थित श्री सूर्योदय बचत तथा ऋण सहकारी सस्थामा काम गर्छिन् भने अनुराग खेतबारी र गोठ सम्हाल्छन् ।

दुई वर्ष पहिले ग्रामीण उद्यम तथा बिप्रेषण (समृद्धि ) आयोजनाको सहकार्यमा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान (भाग- १) तालिम सञ्चालन भयो । श्री सूर्योदय बचत तथा ऋण सहकारी सस्थाकी व्यवस्थापक गीताले तालिममा प्रतिनिधित्व गरी सहभागि भएपछि उनको परिवारको धेरै कुरामा महत्वपूर्ण परिवर्तन आएको छ । काम तथा व्यवसायबाट कमाएको केही हिस्सा बचत गर्ने, पारिवारिक बजेट बनाएर घरको आर्थिक व्यवहार गर्ने जस्ता साना देखिने तर महत्वपूर्ण व्यवहारिक पाटोहरुमा तालिममा सिकेका कुराहरु उनले लागू गरेकी छन् ।

यसै बीच समृद्धि आयोजना र सूर्योदय सहकारीको आयोजनामा समूह तथा व्यापारी र सेवा प्रदायकहरुको अन्तरक्रिया कार्यक्रम ( B2B) संचालन सम्पन्न भयो । सो कार्यक्रममा भाग लिएकी गीताले व्यवसायिक बाख्रा पालन र बजारबारे राम्रो जानकारी पाइन् । त्यसपछि घर सल्लाह गरी बाख्रामा लगानी बढाउने योजना बनाइन् । यस्तै केही गरौँ भन्ने जाँगरिला किसानहरुद्वारा सञ्चालित सकृय बाख्रा पालन समुहमा आबद्ध भइ गीता अहिले सचिवको भूमिका छिन् ।

गीताले समृद्दि कृषि तथा पशुलालन फर्म दर्ता गरेर वैधानिक बाख्रा पालनलाई जागिरको रुपमा हेर्ने गरी व्यावसाय थालिन् । सूर्योदय बचत तथा ऋण सहकारीको अन्तर समुहको रहेको सकृय बाख्रा पालन समुहलाई समृद्दि आयोजनाले प्रदान गरेको पुरक अनुदानमार्फत उनले पहिलो किस्ताको रकम पनि पाइन् ।

तत्पश्चात गीताका दम्पतिले परम्परागत खोरलाई सुधार गरेर माउ बाख्रा पाठापाठि र बोका राख्ने बेग्ला बेग्लै कोठा भएको साथै मलमुत्र सहज रुपमा जम्मा हुने गरी तयार गरेको छ । खेतबारीमा हुने घाँस र तरकारीका घाँसबाहेक खरबारी तथा डाले घाँस खेति गरेकी छन् । समुहमा घाँसको व्यवस्थापन तथा उन्नत जातको बीऊ बोकाबाट नश्ल सुधार हुँदा व्यवसायिकतामा सहजता हुँदै गएको उनी बताउछिन् । अहिले २५ माऊ बाख्रा, १७ वटा खसि १८ वटा पाठापाठि गरी जम्मा ६० वटा बाख्रा छन् । लगभग ३ लाख जाति पर्ने खसिबोका खोरमा रहेको छ । यो बर्ष एक लाख ८० हजार बाख्राको आम्दानी भएको लेखा राखेका छन् राई जोडिले । ।

यो बाहेक खोरबाट निस्केको मलमुत्र प्रयोग गरी तरकारी र अकबरे खुर्सानीमा लगाएर अर्को फाइदा लिएका छन् । यो वर्ष तरकारीले ६० हजार र अकबरे खुर्सानीले ८० हजार आम्दानी लिइरकेको बताउँदै अब थप एक लाख ५० हजार कमाउने योजना भएको सुनाउछिन् उनी । कमाएको रकम घरायासी खर्चबाट बचाएर सम्पति, जमिन जोडेर केही लगानीमा लगाएका छन् ।

गाँउकै नमूना र आदर्श यो परिवारले अरुलाई प्रेरणा दिएका छन् । उनीहरुको सिको गरेर अहिले बोया बाख्रा तथा तरकारी उत्पादन व्यवसायिहरुको थलो बनेको छ । हरेक युवा आफ्नो गोठ र बारीमा व्यस्त देखिन्छन् । गाँउमा यस्तो लहर देखेर कृषिमा लगानी र अनुदान बढाउने योजनामा रहेको कुरा वडा अध्यक्ष इन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

समृद्धि अयोजनाको सहयोगमा सहकारीले सञ्चालन गरेको वित्तीय शिक्षा तथा व्यवसायिक सिप विकासको भाग-१ (फिक) तालिममा पछि उल्लेख्य परिवर्तन महसुस् भएको सहकारीका पूर्व अध्यक्ष तथा १४ नं वडा अध्यक्ष झम्क रोका बताउँछन् ।

गीता र अनुरागको पौरखको सिको गर्ने हरेक परिवारको पनि अवश्य आर्थिक उन्नति हुनेछ ।