पौरखी मीनबहादुर ─ “समृद्धि आयोजनाबाट जे पाएँ चाहिएकै यही हो”

मिन बहादुर बस्नेत (वर्ष ४६) बेलका नगरपालिका रामपुर बजारमा डेरी सञ्चालकका रूपमा स्थापित नाम हो । उनी सिजनमा दैनिक ८०० देखि १००० लिटरसम्म दूध बेच्छन्। उनको यो व्यवसायिक कार्यले उनको ४ जनाको परिवारको राम्रोसंग गुजारा चलेको छ। उनको व्यवसायमा हाल करिब २५ लाख मूल्य बराबरको सम्पत्ति छ। गाउँ समाजमा राम्रो छवि पनि कमाएका छन्।  वास्तवमा यो अवस्थामा आइपुग्न उनले जीवनका धेरै हिउँद-वर्षाहरू आफ्नो अथक मिहेनतका साथ व्यतित गरेका छन्। साथमा समय सापेक्ष चल्नुपर्ने व्यवसायिक प्रेरणा र बजार सम्बन्ध स्थापनामा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना  (समृद्धि )जस्ता निकायहरूले प्रदान गरेको साथ सहयोगको योगदान पनि कम्ति छैन।

उदयपुरको मैनामैनीबाट वि.सं. २०५० सालमा उदयपुरको बेलका न. पा.–९ बसाइँ सरेको मिन बहादुर बस्नेतको परिवार जीविकोपार्जनका लागि निर्वाहमुखी किसानीसँगै खसी-बोका व्यापार गर्ने गर्दथ्यो । वि.सं. २०५२ सालमा बस्नेत अध्ययनका लागि काठमाडौ गए र उनले त्यहाँ कलेजको पढाइसँगै इलेक्ट्रोनिक मेकानिक्सको पेशा अंगाले । तात्कालिन समयमा देशमा सशस्त्र द्वन्द्व चर्किएको अवस्था थियो। आन्तरिक द्वन्दका कारण देशमा अशान्तिको स्थिति थियो। देशको अवस्था बिग्रिदै गइरहेकोले उनको स्वदेशमै केही गर्ने चाहनामा कुठाराघात लाग्यो । र, अन्ततः उनी वैदेशिक रोजगारीको खोजिमा साउदी अरेबिया लागे।

केही वर्षको विदेश बसाई पछि उदयपुर फर्केर ब्रोइलर कुखुरा पालनसँगै तरकारी खेती गरे । यस पेशाले पनि उनलाई आत्मसन्तुष्टी दिन सकेन । दिगो कामको खोजीमा भौतारिने क्रममा नजिकैको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा काम गर्न पुगे । त्यसबेला गाँउ घरमा घुम्नु पर्दथ्यो । प्रायः सबै घरमा दुहुना गाई भैँसी हुने भएकाले उनलाई दही, मही, दुध खान दिन्थे । दुध बिक्दैन, बेच्न पाए दुईचार पैसा आम्दानी हुन्थ्यो भनेर गाँउलेले भन्दथे । यो सुनेपछि उनलाई गाँउघरमा उत्पादित दुध संङ्कलन हुने सम्भावना बारेको विश्वास जाग्यो।

आफूसँग भएको एउटा भैँसी र खेतीपातीको पेशा छाडेर वि.सं. २०७३ सालतिर साईकलमा गाउँ-गाउँबाट दुध सङ्कलन गरी रामपुर बजारमा बेच्न थाले। पछि, बेलका बजारमा मनोकामना डेरी उद्योग स्थापना गरी दुध र दही बेच्न थाले ।  कुनै समय खुवा बनाएर सप्तरीको बरमझिया बजारमा निर्यात पनि गर्दथे । साठ्ठी पैसठ्ठी हजार मासिक आम्दानी हुन्थ्यो।

एउटा गतिमा चलिरहेको उनको व्यापारमा एकाएक ह्रास आयो जब खुवाको बजार अचानक घट्यो । दुधको बजारको अभावले उनी निरास थिए । यसैबेला समृद्धि आयोजनाबारे उनले सुने । आपूर्ति श्रृंखला प्रवर्द्धनमा सहयोग गरी राखेको यस आयोजनाको कार्यक्रम उनको आवश्यकतासँग मेल खाने खालको थियो । आयोजनाको पहलमा भएको  उत्पादक, संकलक र व्यवसायी (बि टु बि अन्तर्क्रिया र प्रदेश स्तरीय बहु सरोकारवाला गोष्ठी) मा सहभागी भएका उनी  भन्छन्, “आयोजनाकै सहजीकरणमा राजविराजको शिवम् डेरीसँग व्यवसायिक सम्झौता भयो। उनैको सहयोगले किस्ताबन्दीमा ऋण लिएर भुक्तानी गर्ने शर्तमा चिलिङ्ग भ्याट र जेनेरेटर भित्र्याएँ । बिस्तारै अन्य ठूला व्यापारीसँग पनि सम्पर्क भयो । समृद्धिको सहयोगले व्यवसाय फेरि फस्टायो।

उनी थप्छन्, “शिवम् डेरी धेरै ठूलो डेरी हो । मेरो दुधको आपूर्ति थोरै थियो । मैले डेरीको माग बमोजिम दुध पुर्याउन सकिरहेको थिइन । समृद्धिले नयाँवस्ती सूर्योदय ─वार्ड नं.१ र सेतीखोला ─वार्ड नं.१० का दुध उत्पादक समूहसँग जोडिदियो। यसपछि दैनिक २०० बाट ८०० लिटरसम्म दुधको कारोबार हुन थाल्यो ।’’ उनले मासिक डेढ लाखदेखि दुई लाखसम्म आम्दानी पनि गर्दथे।”

स्थानीय उपभोक्तालाई लक्षित गरी सानो स्केलमा व्यवसाय गरिरहेका मिन बहादुरको व्यवसायिक व्यापारिक कारोवारको दायरा धरान, इटहरी, चतरा, सप्तरीसम्म बढेको छ । त्यतिमात्र नभई काठमाडौमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको डेरी─ नेपाल डेरी प्रा लि संग पनि खुवाको कारोवारका लागि सकारात्मक कुराकानी भएको छ। यसका लागि उनले समृद्धि आयोजनासँग सह–लगानीका लागि प्रस्तावना पनि पेश गरेका छन् ।  यसको श्रेय उनी समृद्धिलाई दिन्छन् । उनका अनुसार दुधको माग धेरै छ। दुधलाई पास्चराइज गरी आपूर्ति गर्न सके व्यवसाय बिस्तार गर्ने सम्भावना धेरै छ।

कोभिड १९ को महामारीले निम्त्याएको निषेधाज्ञा र विसम परिस्थितिका कारण हाल १५० देखि २०० लिटर मात्र दुध उनी स्थानीय उपभोक्तालाई कारोवार गर्न बाध्य छन् । फेरि पनि उनको हिम्मत र हौशला मरेको छैन। बेलका र आसपासको गुणस्तरीय दूधलाई दिगो तथा निरन्तर कारोवारका माध्यमबाट किसानलाई पनि व्यवसायिक उत्पादनतर्फ टेवा पुर्याउने उनको योजना छ। यसका लागि सुनिश्चित बजार र चालु पूँजी कोशे ढुङ्गाका रूपमा रहेका छन्। बजार त अव क्रमशः सहज हुँदै गयो तर धितोको रुपमा आफूसँग ऐलानी जग्गा मात्र भएकाले कमर्शियल बैंकसँग कारोबार गर्न नसकेको तीतो यथार्थ उनले पोखे। सोका लागि पनि समृद्धि आयोजनाबाट पहल सुरु भएको छ। अन्त्यमा उनी भन्छन्, “‘उत्पादक र बजारसँग जोडिनु नै ठूलो कुरो हो। हामीलाई चाहिएको सहयोगको महत्वपूर्ण पक्षहरु यस्तै प्रकृतिका हुन्, जुन समृद्धि आयोजनाबाट पाइएको छ। ”