स्रोत व्यक्ति तालिमले समुह सदस्यको आर्थिक अवस्थामा मात्र सुधार गरेन पहुँचमा पनि वृद्धि गरायो

श्री शितलादेवि आयमुलक कृषक समुहका सदस्य खगेन्द्र फएलले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि" संग सहकार्य गर्ने किसानहरु तथा व्यापारिहरुसंगको बहुसरोकारवाला गोष्ठिमा सहभागि हुने अवसर पाए । सो अवसरले उनलाई खेतिलाई जागिरको रुपमा लिएर व्यवसायि बन्न प्रेरित गर्यो । “समृद्धि” आयोजनाको कोशि सगरमाथा करिडोर कार्यालयले धनकुटामा आयोजना गरेको कार्यशालामा खगेन्द्रले तरकारी व्यापारको केन्द्र स्थल हिले सहितका स्थानीय कृषक व्यापारीहरुसंग अन्तरक्रिया गर्न पाए । धेरै उत्पादन गर्दा बजारको समस्या हुने अनुमान गरेका फएललाई बजारको ग्यारेन्टी हुने विषयले आश्वस्त पार्यो ।

हाल भोजपुर नगरपालिका ४ बोखिममै रहेर युवा कृषक खगेन्द्रले खेति गर्ने तरिका नै फरक अपनाएका छन् । पुरानो खेति प्रणालीको सट्टा आधुनिक प्लाष्टिक मल्चिङ र टनेलमा लगाएको तरकारीको उत्पादनमा धेरै अन्तर आएको ताजा अनुभवले उनले ३ वटा टनेल बनाएर व्यवसायिक खेति गर्ने योजना वनाएका छन् । यसरी आधुनिक तबरले तरकारी उत्पादन गर्ने सिप पनि उनले समृद्दि आयोजनाकै सहयोगमा अगुवा कृषकका लागि तय गरिएको तालिममा सहभागि भएपछि प्राप्त गरेका हुन्। आयोजनाले गठन गरेको किसान समुह सदस्य मध्ये खगेन्द्रको परिवारको तरकारी खेतिमा चासो र काम गराइमा उत्साह देखेर स्थानीय श्रोत व्यक्तिको रुपमा छनौट गरी धनकुटाको छिन्ताङ्मामा  सहभागिको रुपमा पठाईएको थियो । यस तालिमबाट उनले व्यवसायिक तरकारी खेति बारे सैद्धान्तिक तथा प्राविधिक ज्ञान प्राप्त गरे । विषेशतः तालिममा मौसमि तथा बेमौसमी तरकारी बालि चक्र, तरकारीमा लाग्ने रोग¸ किरा र जैविक विषादी तयारी तथा उपचार विधि¸ प्लास्टिक टनेल तयारी र थोपा सिंचाईबारे अभ्यास र स्थलगत अध्ययन अवलोकनबाट सिपहरु सिकाईएको थियो । यो तालिमले खगेन्द्रमा बेग्लै जोस र उर्जा प्रदान गर्यो । उनमा  आधुनिक प्रविधिको प्रयोग गरी आफ्नो भूगोल सुहाउँदो खेति गर्ने गराउने ज्ञान¸सिप र क्षमता भएका किसान भएको अनुभुत गरायो । तत्पश्चात् समुहको बैठकमा आएर तालिमका सिकाइ तथा अनुभवहरु आदान प्रदान गरे¸ जसको कारण समुहका अन्य किसानको पनि टनेल तयारी र तरकारी उत्पादन योजना तयार गर्न सहयोग मिल्यो ।

आयोजनाले प्रदान गरेको स्रोत व्यक्ति तालिम लिईसकेपछि खगेन्द्रकै अग्रसरतामा शितलादेवि समुहमा २ दिवसीय तरकारी उत्पादन तथा व्यवस्थापन तालिम संचालन भएको थियो । जसले गर्दा समुहका सबै सदस्य परिवारमा तरकारी उत्पादनका ज्ञान¸सिप र प्रविधि तथा बजारीकरण बारे क्षमता विकासमा सहयोग पुगेकोले कुरा खगेन्द्र जस्तै सोच बढाएका अन्य कृषकहरु पनि बताउँछन् ।

आयोजनाको सह-लगानीबाट पहिलो र दोश्रो किस्ताबाट उपलब्ध विउ¸ कृषि सामाग्री र किसानको आफ्नै लगानीमा प्लास्टिक टनेल तयारी र थोपा सिंचाई तयार भएका छन् । समुहमा रहेका सदस्यका परिवारका महिलाहरुलाई उपलब्ध हुँदै गरेको वित्तिय शिक्षा तथा व्यावसायिक सिप तालिम कक्षा (फिक भाग- २)मा खगेन्द्रकी श्रीमति पनि सहभागि छन् । सो कक्षामा उनले उद्यमशिलता, बचत, व्यवसाय जस्ता व्यवहारिक ज्ञान लिन थालिन् जसले गर्दा पारिवारिक मेल र खेति कार्यमा हौंसला बढ्न थाल्यो । आँफुले गरेको खेतिको नियमित हिसाब किताब आयोजनाबाट प्रदान भएको कृषक डायरीमा पनि राख्न थालेकी छन् । यस अघि कति खर्च गरेर कति कमाई भयो भन्ने हिसाब नै हुँदैन थियो । समुहवाट पाएको सहयोगमा आँफूले पनि थपेर २ वटा प्लास्टिक टनेल र थोपा सिंचाई तयार गरेका छन् । खगेन्द्रकै सहयोगमा शितला देवि समुहमा अन्य थप १६ वटा प्लास्टिक टनेलको तयारी र थोपा सिंचाई समेत निर्माण गरि समुहका सदस्यले खेति गरिरहेका छन् ।

त्यसै गरी प्लास्टिक मल्चिङ समेतको टनेल र थोपा सिंचाईको प्रयोगले भएको उत्पादन र परम्परागत खुला रुपमा गरिएको तरकारी उत्पादनको खर्च र आम्दानीको तुलना गर्दै खगेन्द्र भन्छन् ­"सुरुमा टनेल तयारी र प्लास्टिक मल्चिङ तयारी गर्दा धेरै खर्च र झन्झटिलो जस्तो लागे पनि खेति गर्न थाले पछि सस्तो र सजिलो हुँदै जान्छ । यसमा मलजल गर्न, गोडमेल गर्न, किरा तथा रोगको उपचार गर्न बाहिरी जनावर तथा किराबाट हुने नोक्सानी जोगाउन खेताला र ज्यालाको खर्चको हिसाव गर्ने हो भने सिधा यो प्रविधिबाट भएको उत्पादन धेरै हुन्छ । खुल्ला र टनेलमा फलेको तरकारी हेर्दै फरक र बजार मूल्य पनि टनेलमा फलेकोको धेरै छ । म जस्तो थोरै जहान भएको किसानले त टनेल खेति नै गर्ने हो ।’’

उनी थप्दछन् ─ “समृद्दिले मलाई प्रविधि संगै हिसाब राखेर खेति गर्न सिकायो । पहिला त मैले खेतिको नाममा समय र श्रमको क्षति मात्र पो गरेको रहेछु । योजना बनाएर लक्ष्य राखेर विदेशमा गरेको मेहनतको आधा मात्र पनि यहाँ गर्ने हो भने परिवारसंगै बसेर बर्षको ४ देखि ५ लाख कमाउन कतै जानु पर्दैन रहेछ । परिवारसंग मिलेर काम गर्दा स्वरोजगार पो हुने रहेछ ।  अहिले त पैसा पनि यहि छ, सुख दुःख परिवारसंगै चलेको छ ।"

अहिले उनको टनेलमा टमाटर¸ खुर्सानी लगायत तरकारी छन् भने २० रोपानि भन्दा बढि जग्गामा अर्गानिक आलु लगाएका छन् । पहिला समय र भाग्यमा मात्र भर पर्ने  खगेन्द्र अहिले मेहनत र आफ्नो कर्ममा विश्वास गर्छन् । उनको लक्ष्य अनुसार भयो भने गत साल सालाखाला १ लाख कमाइ भएको बारिबाट यो साल ३ लाख कमाई हुने आशा राखेका छन् । आँफूले जस्तै समुहमा रहेका सदस्यले खेति गरेमा जिल्ला बाहिरको बजारमा उत्पादन पुर्याउने र पालिकाको नमुना गाउँ बनाउने रहर सुनाउँछन् खगेन्द्र ।

" हामीले समृद्दि आयोजनासंग सहकार्य गर्नु अघि र आजको अवस्था तुलना गर्दा धेरै फरक पाएका छौं । समुहको काम देखेर नगरपालिका संगको पहुँचका साथै स्थानिय तहले जनताका लागि प्रदान गर्ने विकासका कार्यक्रममा सहभागि हुन पाउने अवसरहरू सिर्जना हुँदै गएको छ’’, खगेन्द्रले थप प्रकाश पारे ।