पढाइ छोडी सफल भएका व्यावसायि कृष्ण
नौ जना सदस्य भएको कृष्ण बहरदारको परिवार रंगेली, वडा नं. ६ मा कुनै समय सफल माछा व्यवसायिको रुपमा चिनिन्थे। पुराना माछा व्यवसायि उनका बाबुलाई व्यवसायमा सहयोग गर्ने परिवारमा कोही भएनन् । एक्लो बलबुताले धान्न छाडृपछि छ ओटा पोखरीबाट दुई ओटामा झर्यो । व्यवसायको आम्दानीबाट गाँउमा जग्गा जोडेका उनलाई अन्ततः घर चलाउन समेत गार्हो भयो । स्थानीय स्कुलमा आठ कक्षामा पढ्दै गरेका कृष्णलाई यस कुराले सधैँ पिरोलिरहन्थ्यो । पढाई सकेर जागिर खाने बेलासम्म पर्खिन सकेनन् । त्यसैले परिवारको आर्थिक जिम्मेवारीको काँध थाप्न पढाइ छाडेरे माछा व्यवसाय सम्हाल्ने निर्णय लिए ।
उनी हाल समृद्धि आयोजनाको साझेदारीमा गठन भएको बहरदार मत्स्य कृषक समुह, रंगेलीका सचिव हुन् । ‘समुहमा आवद्ध भएपछि सामुदायिक रुपमा अगाडि बढ्न सजिलो भयो । एकअर्काबाट सिकेर सबैजनाको व्यवसाय राम्रो भएको छ,’ उनी भन्छन् । आयोजनाले जनकपुरमा आयोजना गरेको बहुसरोकारवाला गोष्ठीमा सहभागि भएर व्यावसायिक र प्राविधिक ज्ञान हाँसिल गरेको बताउँछन् । समृद्धि आयोजनाले यस समुहमा बजारीकरणका लागि साइकल र माछा मार्ने जालमा सहयोग गरेको छ । “पहिले गुद्री बजारमा लगेर माछा आफै बेच्थ्यौँ । अहिले व्यापारी आफै आउँछन् । अर्डर गरेर पनि मगाउँछन् ”। दरबेसा, रंगेली, पर्सिया, डेनिया जस्ता बजारमा लगेर माछा बेच्छन् कृष्ण । पहिला १५० देखि २०० रुपैया प्रति के.जी मात्र भाउ पाएको माछाले अहिले ४०० देखि ५०० सम्म पाउने गरेको पाइयो । एक वर्ष अगाडि चार लाखको कारोबार बढेर अहिले १५ लाख बराबर हुन्छ । पहिले माछा पाल्ने उनको घर मात्र थियो अहिले नक्कल गरेर त्यहाँका ७७ घरधुरीले माछा पाल्छन् ।
हाल उनीसँग १४ ओटा पोखरी छन् । ती मध्ये १२ ओटा चाँही वार्षिक ५० हजारमा ठेक्कामा लिएका हुन् । उनलाई ह्याचबाट राम्रो आम्दानी हुन्छ । चैत्र देखि भूराको सिजन हुन्छ, सात सयसम्म प्रति केजी बिक्रि हुन्छ । उनले माग पुर्याउनै नसकेको बताए । ५,००० को भूराबाट ५०,००० देखि ७०,००० सम्म कमाउन सकिन्छ । सबै गरी महिनामा एक लाख कमाउने उनले दैनिक ५०० बचत गर्ने गर्दछन् ।
सफल व्यवसायिको चिनारी दिन सकेकोमा उनी खुशि छन् । अब १० कठ्ठामा पोखरी थप्ने विचार भएको उनले स्थानीय स्तरमा आधुनिक माछा उत्पादन गर्ने प्रविधि सिक्न चाहेको बताए ।