हिरादेवीको फस्टाउँदो बाख्रापालन व्यावसाय
२०७६ पुस महिना देखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) संग जोडिएर हिरा देबी थापाले आफ्नै नेतृत्वमा उनै अध्यक्ष भएको २५ जनाको लाकुरे बाख्रा पालन कृषक समुह गठन गर्न अग्रसर भईन्। तत् पश्चात आयोजनाको आपूर्ति श्रृंखला विकास कार्यक्रममा सामुहिक रुपमा क्रमशः सहकार्य गरि पुरक अनुदानका साथ साथै व्यवसायिक र प्राबिधिक तालिम, पशु बिमा तालिम लिई थुप्रै व्यवसायिक र प्राबिधिक ज्ञान हाँसिल गरिन् । उनका समुह सदस्यहरू अहिले व्यवसायिक रुपमा बाख्रा पालेर मनग्य आम्दानी लिईरहेका छन् । त्यस मध्यकी उनी उदाहरणिय पात्र हुन् ।
धनकुटा नगरपालिका वार्ड न.-३ लाकुरे वस्ने ५५ वर्ष काटेकी हिरादेविको परिवारमा दुई छोरा र एक बुहारी छन्। पतिको असामयिक निधन पछि उनलाई परिवार चलाउन धेरै कठिन हुँदै आएको थियो। बिगत ११ वर्ष देखि उनी बाख्रा पालनलाई आफ्नो प्रमुख आम्दानीको श्रोत बनाएर जिविको पार्जन गर्न थालेकी हुन्। परम्परागत रुपमा बाख्रा पाल्दै आएकी हिरादेवीलाई शुरु शुरुमा बाख्रा पालन सम्बन्धि कुनै व्यवसायिक र प्राबिधिक ज्ञान थिएन। उनि भन्छिन “घाँस काट्न ठुला-ठुला रुखहरु चड्नु पर्थ्यो, धेरै टाढा टाढा सम्म पुग्नु पर्दथ्यो । एक भारी घाँस जम्मा गर्न दिन भर जस्तै खर्च हुन्थ्यो । व्यवस्थित र आधुनिक खोरको बारेमा ज्ञान थिएन । नश्ल सुधारको बारेमा ज्ञान थिएन, एउटा बोका ३/४ वर्ष सम्म पाल्ने परम्परा थियो । जसले गर्दा जन्मिने पाठापाठीहरु रोगि र ख्याउटे हुन्थे र केहि मर्दर्थ पनि । तर अहिले परिस्थिति फरक भएको छ । उनी बताउँछिन्- “परम्परागत बाख्रा पालन होईन अहिले त आधुनिक तवरले पालेकी छु । मेरोमा आधुनिक खोर निर्माण गरी उन्नत जातको बोका खरिद गर्ने र उन्नत घाँस लगाईएको छ। बिगतमा जस्तो घाँस जम्मा गर्न टाढा टाढा सम्म पुग्नु पर्दैन भिर पाखामा जानु पर्दैन । आफ्नै बारीमा विभिन्न जातका घाँस उत्पादन भएको छ । ”
समृद्धि आयोजना संग जोडिएर व्यवसायिक रुपमा बाख्रा पाल्दै आएकी हिरादेवी संग अहिले २ सय ओटा बाख्रा अट्ने आधुनिक खोर, उन्नत जातको बिँउ बोका र १० रोपनीमा विभिन्न जातको स्ताइलो, नेपियर, सुपर नेपियर, स्मार्ट नेपियेर, किम्बु, इपिल इपिल, नेवारो, जौ, आदि उन्नत घाँसहरु लगाईएका छन् । उनले थपिन् – “ आयोजनाले प्रदान गरेको पुरक अनुदानको साथै व्यवसायीक र प्राबिधिक तालिमबाट आधुनिक खोर निर्माण गर्ने र विभिन्न जातको घाँसहरु लगाए पश्चात बाख्राको संख्या पनि बढाउन समर्थ भएकी छु ’’। उनका अनुसार अर्थ आर्जन पनि भई राखेको छ । खसी -बोका विक्रि गरी बार्षिक ३ लाख देखि ४ लाख सम्म कमाउँछिन् । मासिक तलब दिने गरी सहयोगि पनि राखेकी छन् । अहिले उनको खोरमा २० वटा माउ बाख्रा, १५ वटा पाठापाठीहरु र १० वटा खसी-बोकाहरु छन् ।
आयोजनाले गरेको आर्थिक र प्राविधिक सहयोगबाट व्यवसायिक बाख्रा पालनका लागि थप उर्जा र हौंसला हिरादेविलाई मिलेको छ। उनलाई व्यवसायिक बाख्रा पालनको आम्दानीबाट राम्रो संग घर खर्च चलाउन पुगेको छ । कसै संग ऋण लिन परेको छैन । सानो तिनो पैसाको समस्या पर्दा तत्कालै खसी बोका व्यापारीहरु घरसम्म आएर किन्ने बोका बेचेर खाँचो टार्न सकेकी छन्।