RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

जिउँदो खसीबोका जोखेर बेच्न पाउँदा किसानलाई उच्च मूल्य प्राप्त भयो

ओखलढुंगामा पहिलो पटक जिउँदै खसीबोका जोखेर खरीदबिक्री हुन थालेको छ । यसरी खसीबोका जोखेर खरीदबिक्री गर्ने कार्यक्रमको शुभारम्भ सिद्धिचरण नगरपालिका वडा नं. १० का वडाध्यक्ष दामोदर धमलाले गरेका हुन् । उनले सोही वडामा रहेको नमुना बाख्रापालन समूहमा एक कार्यक्रमका बीच अगुवा किसान घनश्याम बाँस्तोलाका खसीबोका जोखेर खरीदबिक्रीको सुरुवात गराएका थिए । जुन कार्यक्रममा व्यापारी ऋषिकुमार धमलासहित दुई दर्जनबढी बाख्रापालक किसान सहभागी थिए ।

सोही अवसरमा बाँस्तोलाले २ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको १९ वटा खसीबोका बिक्री गरेका थिए । उनले खरी जातका ९ वटा बोका, जमुना पारी ५ वटा खसी र बोयर ५० प्रतिशत क्रसका ५ वटा खसीबोका व्यापारीसँग हाताहाती बिक्री गरेका हुन् । काँटा लगाएर आउने तौलमा प्रतिकेजी खरी जातका खसीबोकालाई ४ सय ८० रुपैयाँ, जमुना पारी जातका खसीबोकालाई ५ सय २० रुपैयाँ र बोयर जातका खसीबोकालाई ६ सय ५० रुपैयाँका दरले खरीदबिक्री भएको छ । तौलमा पेटको लादी, रौँ, खुर, सिङ केहीपनि ह्रासकट्टी नगरी खरीदबिक्री भएको हो ।

जोखेर खसीबोका बिक्री गरेपछि पाएको रकम बाँस्तोलाले एकछिन सुम्सुम्याए । मुसुक्क मुस्कुराए र राधेराधे भन्दै भगवान्को नाम लिए । यो देखेर उपस्थित सबैजना अचम्ममा परे । ‘देख्नु भयो त, अनुमानकै भरमा मोलतोल गरेर खसीबोका बिक्री गर्दा हामी ठगिँदै आएका थियौँ,’ मेहनत गरेर आएको रकम श्रीमतीलाई राख्न दिँदै बाँस्तोलाले भने,’ ‘जोखेर कारोबार गरेपछि हामीले बल्ल वास्तविक मूल्य पाएका छौँ ।’

पहिले खसीबोका बेच्न बजारमै लानु पर्दथ्यो, मान्छेले उचालेर अनुमानको भरमा खसी मोलतोल हुन्थ्यो जसका कारण किसान मारमा थिए भने व्यापारी पनि यस्तो अवैज्ञानिक नापतौल विधिबाट सन्तुष्ट थिएनन् । तर अहिले किसानको घरमै पुगेर व्यापारीले खसीबोका जोखेर खरीद गर्न थालेपछि यहाँका किसानहरु खुसी भएका छन् ।

नयाँ र राम्रो कामको सुरुवात भएकोले अन्य समूहसँग पनि अबदेखि जोखेरै कारोबार गर्ने व्यापारी धमलाले  बताए । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच व्यवशायिक सम्बन्ध र सहकार्यको विकास सम्बन्धी गरेको छलफल कार्यक्रम पश्चात खसीबोका जोखेर खरीदबिक्री गर्न दुवै पक्ष सहमत भएका थिए । “समृद्धिले चलाएको छलफलबाटै खसीबोका जोखेर खरीदबिक्री गर्ने निर्णय भएको थियो, सबैको सहयोगमा अहिले त्यो कार्यान्वयनमा आएको छ ।” समूहकी एक सदस्य सिर्जना बाँस्तोलाले भनिन् ।

समृद्धिले प्रदेश नं. १ का ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर, उदयपुर र तेह्रथुम जिल्लाका किसानलाई लक्षित गरी नश्ल सुधार, बजार व्यवस्थापन, वित्तीय सहजीकरण, प्राविधिक ज्ञान तथा तालिम र अनुदानलगायतका क्षेत्रमा काम गर्ने र उद्यमशिलता विकास गर्ने कार्यक्रमहरु ल्याएको छ । जसअन्र्तर्गत ओखलढुंगा जिल्लामा खसीबोकाको क्षेत्रमा आपूर्ति श्रृंखला विकास र प्रवर्द्धन गर्नका लागि पहिलो चरणमा बाख्रापालनमा चिनिएका क्षेत्रमा क्लष्टर निर्माण गरी बजार व्यवस्थापनको क्षेत्रमा सघाउ पुर्याउदै आएको छ ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020