वित्तिय पँहुचका कारण पार्वतिको व्यावसाय रुपान्तरण भयो

कुलुङ चोक उर्लाबारी, मोरङ बस्ने पावर्ती राजबंशी, ४१ ले जीवनमा खान लाउनको गर्जो टार्न के मात्र गरिनन् । दुई छोरी एक छोराकी आमा पार्वतीले रु. २० छोरीको नाममा र १०० रुपैंया आफ्नो नाममा प्रति महिना नारी सृजना बचत तथा ऋण सहकारीमा बचत गर्ने गर्दथिन् । जस्मा उनी २०५३ देखि आवद्ध थिइन् । अब केही गर्नुपर्छ भनेर परिवार सल्लाहमा सहकारीबाट कर्जा लिएर ६ हजार रुपैंयामा रिक्सा किनिन् । रिक्साबाट केही आम्दानी हुन्थ्यो । त्यसको कर्जा तिरीसकेर फेरी थप कर्जा लिई ७ ओटा रिक्सा किनेर भाडामा समेत दिइन् । पतिले पनि रिक्सा चलाउँथे । परिवारमा केही राहत भएको थियो । सिटी सफारीको चलन आएपछि रिक्सा पूर्णतः बिस्थापित भयो । उनको  परिवारमा फेरि संकटका दिन शुरु भए ।

श्रीमानको मात्र भर गर्नु हुँदैन आफूले पनि केही गर्नुपर्छ भन्ने सोच भएपनि पार्वतीसँग कुनै सीप र पर्याप्त लगानी नहुँदा आयआर्जनको बाटो समाउन सकेकी थिइनन् । यत्तिकैमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “ समृद्धि”ले  स्थानीय स्तरमा संचालित सहकार्य सम्झौता गरेका सहकारीहरु मध्ये उर्लावारी वडा नं. ७ मा अवस्थित नारी सृजना सहकारी संस्था पनि आयोजनाको चयनमा पर्यो । आयोजनाले वित्तीय संस्थाहरुको क्षमता विकास गर्ने तथा दिगो रुपमा सुलभ दरमा वित्तीय श्रोतमा पहुँच पुर्‍याउनुको साथै ग्रामीण स्तरमा वसोवास गर्ने समुदाय, आप्रवासि कामदार तथा तिनका परिवारका सदस्यहरुलाई लक्षित गरी वित्तीय शिक्षा तथा व्यापार/व्यवसाय साक्षरता तालिम सञ्चालनमा रहेको छ। संस्थागत संरचना क्षमता अभिवृद्धि गरि सहकारी संस्थाहरुलाई दिगो र समुन्नत बनाउन सामुहिक प्रयासको वातावरण समेत आयोजनाले तयार पारेको छ । व्यवसायीकरण मार्फत रोजगारी सृजना तथा सीप विकास गरी दिगो ग्रामीण अर्थतन्त्रको विकास तथा उद्यमको संस्थागत विकास गर्नका लागि लक्षित घर परिवारलाई सहुलियतपुर्ण कृषि कर्जामा सहज पहुँच अभिवृद्धि गर्ने काम पनि अघि सारेको छ ।

पार्वती सम्मिलित भएको सहकारीले घरेलुसँग सहकार्य गरेर महिलाहरुका लागि निःशुल्क सिलाई-कटिङ तालिम ल्यायो । उनी पनि त्यसमा सहभागि भइन् । तथापि लुगा सिलाउने आत्मविश्वास अझै राम्रोसँग विकास भएको थिएन । त्यसैले थोरै पैसामा ५, ६ वर्ष सम्म अर्काको टेलरमा सिक्दै काम गरिन् । त्यसपछि एउटा मेशिन किनेर आफैँ सिलाइ कटिङ व्यवसाय शुरु गरिन् । लगनसशील पावर्तीको व्यवसाय चाँडै फस्टायो । व्यवसायमै सिमित नराखी तालिम प्रशिक्षण केन्द्रको रुपमा बिस्तार गर्ने सोच पलायो उनमा । र, १० ओटा मेशीन किनेर संघसस्थाहरुको सहकार्यमा स्थानीय महिलाहरुलाई कटिङ सिकाउन थालिन् । ‘त्यत्तिबेला यो गाँउमा हाम्रो मात्र आर्थिक अवस्था नाजुक भएको घर भनेर चिनिन्थ्यो । अर्काको घरमा काम खोज्न जान्थेँ म, अहिले चार जना कालिगढ राखेको छु । सिजनका बेला अन्य अस्थायी कामदार पनि राख्छु’ उनले भनिन् ।

उनको व्यवसायिक रुपान्तरणमा सहकारीबाट धेरै बल मिलेको छ । अझै एक लाख ऋण तिर्न बाँकी छ । सहकारीबाट सानो पुजीँ भएको व्यवसाय गर्नलाई धेरै सजिलो हुन्छ । बीना धितो एक लाख मात्र कर्जा पाइन्छ । पावर्तीको १० धुर जग्गा मात्र छ । गार्मेन्ट उद्योग खोल्ने योजना भएकी उनले पर्याप्त धितो नभएर पुँजी जुटाउन सकेकी छैनन् । उद्योगनै खोलेर आय आर्जन नभएका विपन्नहरुलाई यस पेशामा रोजगारी दिने ईच्छा छ ।  र आफ्नै आत्मासन्तुष्टिका लागि सिलाई सिक्न रहर भएकालाई पैसा नतिराई सिकाई दिन्छिन् पनि उनी ।