RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

Stories

कृषि र पशुपालनबाट ‘समृद्धि’ को बाटोमा लम्कदैँ कृषक

  • शम्भु यादव  2022-07-04 20:06:06

लिङ्कः  कृषि र पशुपालनबाट ‘समृद्धि’ को बाटोमा लम्कदैँ कृषक (lahanpost.com)

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ११ बगहा गाउँकी ३६ वर्षीय कविता महतोले खेतबारीमा फलाएको उन्नत जातका तरकारीले अहिले राम्रै बजार पाउन थालेको छ । बिहान सबेरैदेखि साँझ घाम अस्ताउने बेलासम्म प्रायजसोः खेतबारीमै भेटिने गरी महतोले भेन्टा, खोर्सानी, बोडी, घिरौला, टमाटर जस्ता तरकारी उब्जनी गर्दै आएकी छन् । 

‘समय–समयमा पहिला लगाएको खोर्सानी खेतीबाट पाकेको खोर्सानी टिपेर बेच्न बजार जानुपर्छ,’ खुशी मुद्रामा उनले सुनाइन्, ‘एकवर्षअघि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्वि) आयोजनामा जोडिएपछि अहिले उत्पादनका लागि धेरै सहज भएको छ ।’

पहिले परम्परागत खेती भएकाले कृषकहरूलाई आम्दानी भन्दा बढी क्षति हुने भएपछि अहिले भने खेती गर्ने तरिका फेरिएकाले सहज भएको उनले बताइन् । 

पहिलेपहिले आफूसँग भएको जमिनमा मात्रै खेती गर्दै आएकी कविता अब जग्गा भाडामा लिएर समेत तरकारी उत्पादनलाई बढाएको बताइन् । उनले भनिन्, ‘पहिला आफ्नो जग्गामा थोरै मात्र उत्पादन हुन्थ्यो, अब जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका छौँ ।’ आयोजनाले उत्पादक किसान समूह सदस्यका लागि प्रदान गरेको पुरक अनुदान सहयोगबाट हलो जोत्ने, खन्ने, औषधी छर्ने लगायत उपकरण पाएको र मनचिङ्ग विधिबाट खेती गर्न थालेपछि वर्षामा पनि क्षति न्यूनीकरण भएको उनको भनाइ छ । 

तरकारी खेतीकै आम्दानीले छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि आफू प्रेरित भएको उनी सुनाउँछिन् । ‘खेतीकै आम्दानीले घर खर्चपनि चलिरहेको छ, छोराछोरी पनि पढाउँदैछु । थोरै रकम पनि बचत गरेको छु,’ उनले भनिन, ‘श्रीमानले कमाएको पैसा बचत हुने गरेको छ ।’ खेती भएठाउँमै व्यापारीहरू किन्नका लागि आएकाले अहिले उब्जनी भएको सामान व्यापारका लागि सहज भएको उनको भनाइ छ । 

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै समृद्वि आयोजनामा जोडिएर काम गर्ने अन्य दर्जनौँ कृषकहरू लाभान्वित भएका छन् । स्थानीय रीता मण्डल र कारीदेवी मण्डल पनि तरकारी खेतीमै व्यस्त हुन्छन् । उनीहरूको आफ्नो जग्गा नहुँदा भाडामा जग्गा लिएर खेती गर्दै आइरहेका छन् । रीताले ११ कठ्ठा र कारीले १० कठ्ठा जग्गा भाडामा लिएर अहिले तरकारी खेती गरिरहेका छन् । 

तरकारी खेती सुरु गरेपछि आफूलाई सामान्य खर्च माग्न कसैसँग हारगुहार गर्न नपर्ने रीता बताउँछिन् । ‘पहिले न हातमा सीप थियो, न पूँजी नै, कामै नगरी बसेका हुन्थ्यौँ,’ उनले विगत स्मरण गरिन्, ‘अहिले काममै व्यस्त हुँदा बाहिरी कुरामा गफिन समेत फुर्सद हुँदैन, दिनभरी खेतमा काम गरियो । आफ्नो आयआर्जनमा लागेका छौँ । अब घरमा आइपर्ने समस्याका लागि ऋण कर्जा खोज्न जानुपरेको छैन । आफ्नै कमाईले पुगेको छ ।’

घरपरिवारमा आइपर्ने समस्याको गुजारा गर्न तरकारी खेतीबाटै मनग्य आम्दानी हुने उनको अनुभव छ । ‘महिलाहरू आफैँ तरकारी खेती गरेर आम्दानी गर्न थालेपछि पहिलेको भन्दा अहिले जीवनयापनमा सहज भएको छ । केही स–साना काम पर्दा घरमा अरुहरूसँग माग्नुपर्दैन,’ रीताले सुनाइन्, ‘एउटा योजनावद्ध तरिकाले कृषि कर्म गरे त्यहीँबाट जीवनयापन सजिलै चल्ने रहेछ भन्ने अनुभव भयो, सामान्य घरपरिवार गुजाराका लागि विदेश नै जान नपर्नेरहेछ भन्ने अनुभूति पनि भयो ।’ 

कर्जन्हा नगरपालिका वडा नं. १ रत्नपुर गाउँका किसानहरूले समृद्वि आयोजनाको सहयोगमा पशुपालनमा समेत जुटेका छन् । यहाँका करीब एक सय जना कृषकहरू अहिले गाई, भैँसी पालेर मनग्य आम्दानी गरिरहेका छन् । उनीहरूलाई पशुपालनको लागि गाउँकै नन्दबाबा कृषि सहकारी मार्फत आयोजनाले सहयोग गर्दै आएको छ । 

सहकारीका अध्यक्ष यज्ञबहादुर कटुवालका अनुसार आयोजनासँग जोडिएपछि किसानहरूलाई पशुपालन गर्न सहज भएको छ । ‘हामीले पहिले गोठ सुधार कार्यक्रम ल्यायौँ, ३५ जना किसानलाई त्यो कार्यक्रम अन्तर्गत सहुलियत दिएका छौँ । केही रकम किसान र केही रकम समृद्धिले गोठ सुधारको लागि लगानी गरिदिएको छ,’ उनले भने, ‘गोठ सुधार भएपछि किसानहरूले गोठमा हुने पशुको दुर्घटनाबाट बच्नेसँगै आम्दानीको स्रोतपनि बढेको छ ।’

गोठ सुधार मात्रै होइन, भ्याक्सिन लगाउनेदेखि घाँस खेती, कुटी काट्ने मेसिनसम्म किसानहरूले समृद्विबाट सहयोग पाएका छन् । कटुवालका अनुसार यहाँका एक सय वटा पशुलाई भ्याक्सिन लगाइएको र ३४ जना किसानलाई घाँस खेतीको लागि अनुदान पाएका छन् । 

किसानहरूले उत्पादन गरेको दूध अहिले सहकारीले गाउँमै शिवम् डेरीसँगको सहकार्यमा चिलिङ्गभ्याट मेसिन लगाउन थालेका छन् । गाउँघरमै दूध संकलन गरी सहकारीबाटै किसानलाई पैसा उपलब्ध गराउने व्यवस्था मिलाइरहेको अध्यक्ष कटुवालले बताए । उनी भन्छन्, ‘किसानहरूलाई पैसा उठाउन समस्या भएपछि सहकारी कार्यालयमै एक हजार लिटरको चिलिङ्गभ्याट मेसिन बसाउन लागेका छौँ । मेसिन आइसकेको छ । विद्युतीकरणको काम थोरै बाँकी छ । त्यो सकेपछि किसानहरुलाई उत्पादन गरेको दूध बेच्न समस्या हुदैन ।’

समृद्विसँग कसरी जोडिए किसान ? 

एकवर्षअघिसम्म यहाँका किसानहरूको उत्पादन कम थियो । कतिपय त बेरोजगार जस्तै घरमै बसेर दिन काट्दै आएका थिए । तर, समृद्विले प्रकाशन गरेको एक सूचनाका आधारमा यहाँका कृषकले उत्पादनमुखी कुरामा परिश्रम गरेपछि मनग्य आम्दानी गरिरहेका छन् । 

यसअघि विभिन्न संघ/संस्थाले तरकारी खेती सम्बन्धी तालिम गोष्ठी आयोजना गरेर बोलाएको खण्डमा गाउँका महिलाहरू समूहमै गएर सहभागी जनाउँथे । पहिलेपहिले परम्परागत रूपमा तरकारी खेती गर्दै आएपनि अहिले भने उन्नत जातका तरकारीहरू पनि उत्पादन हुँदै आएको छ । समृद्वि आयोजनासँग जोडिएपछि यहाँका धेरैजसोको कथा फेरिएको छ । यीनै कथाका केही पात्रहरूको कथा हो, माथि उल्लेख गरिएका पात्र । अहिले यहाँका कृषकहरू तरकारी बाली र पशुपालनबाट ‘समृद्धि’ को यात्रामा लम्कन थालेका छन् ।

Recent Stories

Copyright RERP | SAMRIDDHI © 2020