ग्रामीण स्तरमा रहेर मत्स्य पालनलाई फस्टाउन सफल उदाहरणीय महिला व्यावसायि हुन् ─ तारा

२३ कठ्ठा क्षेत्रफलमा अवस्थित पोखरीमा रौ ,नैनी, सिल्भरकार्प, ग्रासकार्प कमनकार्प जातका माछा पालेर वर्षको ३ लाख भन्दा माथी आम्दानी गर्दे आएकी तारा श्रेष्ठले समृद्धि आयोजनाको सहजीकरणमा गठन भएको शुक्रबारे माछा उत्पादन समुहमा आवद्ध भईसकेपछि दुई वटा नर्सरी पोखरी स्थापना गरिन् । साधारण लेखपढ मात्र गर्न सक्ने उत्साही माछा व्यावसायि तारा हाल सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ बुधवारे टोललाई कर्मभूमी बनाइ माछा उत्पादन व्यवसायमा रमाइरहेकी छन् । उनी आफैँले साना माछाका भुरालाई हुर्काई पोखरीमा लगाउने गर्दछिन् । जसबाट महामारीका समयमा भएको वन्दावन्दिमा पनि उनलाई माछा भुराको कुनै समस्या भएन । उनका अनुसार पैसा खर्चेर किनेका स–साना माछाका भुरा मर्ने साथै पोखरीमा भएका अन्य रैथाने माछाले खाएर हुने व्यवसाय घाटाको मार आँफैले माछा भुरा उत्पादन गरे पछि कम रहेको बताउँछिन् ।

माछा बाहेक उनले १७ कठ्ठामा अन्य कृषि वालि लगाएकी छन् र एउटा ट्रयाक्टर पनि छ । तीन छोरा, एक छोरी, पति-पत्नी गरी जम्मा छ जना रहेको ताराको परिवारमा कोही पनि वैदेशिक रोजगारीमा गएका छैनन् । मेहनत गर्न सके नेपालमै कमाउन सकिन्छ भन्ने तारा समृद्धि आयोजना गठित समुहकै धेरै परिमाणमा र ठूला ठूला माछा उत्पादन गर्ने व्यवसायी हुन् । उनले समुहमा बसे पछि आयोजनाले प्रदान गरेको वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम भाग –२ मा सहभागि हुने अवसर पनि पाईन्। यस प्रकारको वित्तिय शिक्षा तालिम कक्षामा बसे पछि उनलाई वचत, ऋण, पैसाको व्यवस्थापन, बिमा, व्यक्तिगत र पारिवारीक वित्तिय योजना गर्न सकिने विभिन्न खालका विधि र तत् सम्बन्धी ज्ञान प्राप्त भयो। यसरी जानकारी पाएपछि उनले हाल आएर फजुल खर्च कटौति गर्न, उत्पादनमुलक क्षेत्रमा पैसाको  लगानि गर्न समेत जानेको बताइन् ।

महत्वपूर्ण त उनलाई आयोजनाका कर्मचारीहरू संगको निरन्तर हुने छलफल तथा भेटघाटका कारण उनको माछा व्यावसाय वृहत बनाउन विविध तहमा हुन पुगेको जनसम्पर्क र पहुँच लागेको छ।  उनी थप्छिन्─ ‘समृद्धि आयोजनाको पहलमा हामी जस्ता कृषि उपज उत्पादन र स्थानिय स्तरमा व्यावसाय गर्नेहरूलाई सहयोग पुर्याउन ल्याइएको किसान डायरी व्यवसाय प्रवर्द्धनका लागि ऐना जस्तै हो । “समृद्धि आयोजनासँग जोडिनु अघि हामीलाई माछा व्यवसायमा कति लगानी भयो?  खर्च भयो वा नाफा-घाटा के कति भयो थाहा नै हुँदैन थियो” उनले भनिन्।  ‘अहिले भने सबै जानकारी एवं रेकर्ड किसान डायरीमा हुने हुँदा योजनाबद्द तरीकाले उत्पादन गर्न ढुक्क भएको छ, व्यवसायमा हुन सक्ने जोखिम न्यूनिकरण गर्न पनि सहयोग पुगेको छ ।’ ताराले थपिन्। आयोजनाको पुरक अनुदान सहयोग अन्तर्गत आधुनिक रुपमा माछा पालन गर्न सकिने वायोफ्लक प्रविधि जडान गरी चाँडै आफ्नो व्यवसायलाई बढाउने र आफ्नो माछा पालन व्यवसायलाई दिगो रुपमा अघि बढाउन तारा उद्धत छन् ।