८० हजारको जागिर छोडेर बाख्रा पालन गरेका साना किसानको सफलताको कथा

भोजपुरका ३० बर्षे मनोज राइ भोजपुर नगरपालिका -१ भाम्राङमा ४० रोपनि जमिन ठेक्कामा लिएर व्यवसायिक रुपमा बाख्रा पालनमा लागेका छन्। बैदेशिक रोजगारीको क्रममा कतार¸ दुबै तथा अन्य खाडी मुलुकमा ८० हजार सम्मको जागिर छाडेर गत २ बर्ष देखि बाख्रा पालन थालेका हुन् । ६ बर्षसम्म विदेशको अनुभव र सिकाइको आधारमा आफ्नै परिवारसँग मिलेर काम गरे राम्रो कमाइ गर्न सकिने विचार गरी स्वरोजगार हुने अठोट गरे उनले ।

फराकिलो तथा घमाइलो चरनको पनि सुबिधा भएको स्थान छनौट गरी खोर¸ घाँस तथा माउ बाख्राको लागि लगभग ६ लाख लगानी गरी आँफू मात्र व्यवसायि हुनु भन्दा वरिपरिका मन मिल्ने छिमेकीलाई पनि समेट्नु पर्छ भनेर भाम्राङ कृषि तथा पशुपालन समुह मार्फत बाख्रा पालनमा अघि बढेका छन् ।

व्यवस्थित रुपमा तयार गरेको मेहनती मनोजको बाख्रा फर्म देख्दै रमित लाग्दो छ । स्थानीय खरी¸ जमुनापारी¸ सानन (दैनिक ४ लिटर सम्म दुध पनि दिने जात)¸ बोयर तथा खरि क्रस जातका लगभग ९० वटा बाख्रा रहेको उनको फर्ममा ३० वटा माउ¸ ४५ पाठा पाठि¸ १ वटा बिउ बोका तथा अन्य खसि रहेका छन् । नश्ल सुधारको लागि सुरु गरेको बोयरबाट भर्खर ३ वटा पाठि उत्पादन भएको छ ।

जब भाम्राङ कृषि तथा पशुपालन समुहमा आबद्ध भएर ग्रामिण उद्मम तथा विप्रेषण आयोजना (समृद्धि) ले काम सुरु गर्न अभिमुखीकरण तथा किसान र व्यापारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भए तब उनमा थप उर्जा मिल्यो । समुहको अध्यक्ष दिलबहादुर राई (मनोज)को लगनशिलता र अनुभवबाट समुहले पनि धेरै ज्ञान लिएको बताउनु हुन्छ । परम्परागत रुपमा बाख्रा पालन गरेकाहरूले व्यवसायिक रुपमा कसरी बाख्रा पालन गर्ने भनेर मनोजबाट धेरैले सिकेका छन् । घाँस तथा आहाराको व्यवस्थापान¸ उन्नत नश्ल सुधार तथा खोरको व्यवस्थापन मुख्य हो भन्ने कुराको व्यवहारिक उदाहरण मनोजले देखाएका छन् ।

समृद्धि आयोजनासँगको सह-लगानी तथा समुहको स्व-लगानीमा खोर सुधार¸ घाँस रोपण तथा विउ बोयर बोका खरिद

सम्पन्न भएको छ । पटक पटकको अनुगमन¸ सरोकारवाला निकायको समन्वय तथा परामर्श सहयोगले मनोजको फर्म लगायत समुहका २८ परिवारमा धेरै राहत मिलेको छ । अहिले नमुनाको रुपमा वरपरका मानिस पनि यो फर्ममा आएर हेर्ने र सिक्ने लहर चलेको छ । आफू र आफ्नो परिवारका सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन गरेको यो व्यवसायबाट यस बर्ष मात्र ६०० के. जि. मासु¸ खसि बोका¸ पाठा पाठि¸ मलमुत्र र घाँसको बिरुवा (बेर्ना) बिक्रिबाट लगभग ९ लाख सम्मको आम्दानी गरेको हिसाब देखाउँछन् उनी । दुई जनालाई पूर्ण रोजगार र दुई जनाले आंशिक रुपमा काम पाउने गरेका छन् ।

 

व्यवसायिक रूपमा यस पेशामा लाग्दाका केहि अनुभवहरु यसरी सुनाउँछन मनोज राई─ "पशुपालनमा जोखिम त धेरै छ जस्तो रोग¸मौसम¸आहारा¸प्रविधि तर पनि खट्न सके अन्य क्षेत्रमा भन्दा कमाई पनि छ । मासिक ३० देखि ४० हजार सम्म कमाइ गर्न विदेश जानु पर्दैन । परिवारसँग बसेर सुख दुःख बाँडेर आफ्ने ठाउँमै स्वरोजगार हुन बाख्रा पालन सँगै तरकारी खेति गर्न सकिन्छ । यदि ठूलो मात्रामा व्यवसाय गर्ने हो भने हरेक बाख्रा व्यवसायिले १ वा २ दुहुना गाई पाल्नु जरुरि छ ता कि कुनै बाख्राको कम दुध आउँदा पाठापाठिलाई त्यसको दुधले बचाउन सकोस¸ नत्र मानिसले प्रयोग गर्दा पनि दोहोरो फाईदा हुने रहेछ । हरेक व्यवसायिले सामान्य पशु उपचार विधि प्राविधिक पक्ष थाहा हुनु जरुरि रहेछ ।"

उनी थप्छन्, "पहाडि क्षेत्रमा यो व्यवसाय सबैका लागि उचित छ¸ धेरै पढेकाका लागि पनि नपढेकाका लागि पनि गर्न सकिने सजिलो छ । मेहनति मान्छेले कमाउन र रमाउन सक्ने पेशा भनेको बाख्रा र छिट्टै उत्पादन हुने खालको कृषि पेशा नै हो¸ हावापानी र माटो चिनेर काम गरे यहीं छ सुख र स्वर्ग ।"

मनोजको व्यवसायिकतालाई देखेर भोजपुर नगरपालिका १ का वडा अध्यक्ष श्री विष्णु भूजेल भन्नु हुन्छ─ "यो वडामा आगामि दिनमा घरै पिच्छे यस्तै पौरखी मनोज जन्माउनु छ¸ आउने योजनामा यस्ता किसानलाई वडा कार्यालयबाट केही प्रोत्साहन प्रदान गर्ने सोच रहेको छ । समृद्धि आयोजनासँगको सहकार्य निरन्तर रहने छ । यो क्षेत्रमा उपयुक्त्त हुने जात पहिचान गरी पशुपालनलाई अगाडि बढाउने हाम्रो पनि सोच रहेको छ ।" मनोजले जस्तै अरूले पनि आफ्नो जमिन¸ जनशक्ति¸ जाँगर र क्षमताको सदुपयोग गरेर समृद्धिको बाटो तर्फ लाग्न सम्भावना नै सम्भावना छ ।