साउदी अरवबाट फर्किएका युवाले आयोजना सम्वद्ध सहकारीसंस्थाको सहयोग पाए

सामान्य अध्ययन गरेका खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं १० निव़ासी गमान सिंह राईको आर्थिक अवस्था कमजोर छ । श्रीमती तारा राई, एक छोरा र दुई छोरी गरी चार जनाको परिवार छ उनको । घर परिवारको दैनिक गर्जो टार्न धौ–धौ भएकोले पैसा कमाई सुखि परिवारलाई सम्पन्न बनाउने अठोट बोकी २०५८ सालमा गमान सिंह साउदी अरबको ग्रिन साइलो एण्ड फ्लावर मिल्स कम्पनीमा काम गर्न गए । हेल्परमा मासिक तलब ६०० देखि २००० रियलमा फ्लोर क्लिपरको काम गरे ।

मरुभुमिमा १२ वर्षको कष्टकर जिवन र कडा परिश्रमपछि नेपालमै कृषि व्यवसाय गर्दा यति त कमाउन सकिन्छ भन्ने सोच आयो । ब्राखापालनको लक्ष्य राखि स्वदेश फर्किए उनी | विदेशमा जति पसिना चुहाएपनि विदेशीलाई नै फाईदा हुने भन्ने ठानी उनले सोच बदले र आफ्नै परिवारसँग बसी केही गर्ने भनि नेपाल फर्के | तर घर आएपछि पारिवारिक समस्याले गर्दा सोचेअनुसार हुन सकेन । विदेशबाट फर्केको लामो समय भैसकेकोले विदेशबाट ल्याएको पैसा पनि घर व्यवहारमा सकियो ।

तथापि व्यवसाय गरी छाड्ने अठोट मारेनन् उनले । लगानी रकमको खोजि गर्न थाले । गाउँघरमा विदेश जानको लागि पैसा दिने तर गाँउमै ब्यवसाय गर्नको लागि विश्वास नगर्ने संस्कार छ | घरका परिवार व्यवसाय गर्न मञ्जुर भएकै थिएनन् । भनिन्छ नि “जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ” ।

वित्तिय स्रोत र सही सल्लाहको अभाव भई रहेको बेला हलेसी तुवाचुंग न.पा. वडा नं -७, महादेवस्थान खोटांगमा रहेको श्री जनहित हलेसी बचत तथा ऋण सहकारी संस्थामा तालिम छ भन्ने सुने । खोजि गर्दै जाँदा ग्रामीण उद्यम तथा विप्रेषण आयोजनासँगको साझेदारिमा वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम हुने जानकारी पाएका उनी तालिममा सहभागि भए ।

तीन दिनको वितीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिममा पारिवारिक बजेट बनाउने देखि खर्च/आम्दानिको स्रोत, बचत, पैसा र जिवनको सम्बन्ध, आम्दानि सन्तुलन, वित्तीय लक्ष्य निर्धारण र यसको व्यवस्थापन, व्यवसाय दर्ता तथा व्यावसायिक योजना निर्माण ,वित्तीय सेवाग्राही तथा वित्तीय सेवाप्रदायक संस्थाबारे ज्ञान प्राप्त भयो । सो तालिममा सिकेको कुरा सुनाएर योजना बनाउने कुरा गरेपछि आम्दानि तथा खर्चको सबै कुरा देखेपछि परिवार पनि सकारात्मक भए । पहिला ऋण भनेपछि डराउने उन्का परिवार व्यवसायिक योजनाबारे थाहा भएपछि ऋण आवश्यक रहेछ यो तरीकाबाट व्यावसाय गर्दा सफल हुने रहेछ अब कुनै हालतमा हामि परिवार मिली व्यावसाय गर्ने भनि बाख्रा पालनमा सहमती जुट्यो ।

उन्ले भने “तालिम पश्चात लाग्यो कि विदेश जानु पूर्व यो तालिम लिन पाएको भए विप्रेषणको रकम सही तरिकाले प्रयोग हुन्थ्यो र आज व्यवसाय गर्न रकमको अभाव हुने थिएन होला” ।

योजना सफल पार्न सोही श्री जनहित हलेसी बचत तथा ऋण सहकारी संस्थाको सदस्य बने । व्यवसाय दर्ता गरी व्यवसायिक योजना सुनाएपछि सस्थाले ऋण दिन चासो देखायो । मिति २०७७।०७।१५ गते रु.२००,०००।– १५% को दरले त्रैमासिक ५०,०००।– बुझाउने गरी कर्जा लिई व्यवसाय सुरु गरे । तालिममा भने जस्तै नियमित रुपमा किस्ता र ब्याज तिरिरहेका उनले ब्राखाको विमा गरी जोखिम कम गर्ने योजना बनाएका छन् ।

तालिममा सिकेको व्यवहारिक ज्ञानले उनको बुझाइ फेरिएको छ । घरपरिवारले पनि उनलाई व्यावसायमा सहयोग गरेका छन् । “व्यवसाय गर्नु पूर्व बन डुलेर, चियापान तथा गफगाफमा समय बित्थ्यो तर अहिले समयको सदुपयोग भएको मात्रै छैन कहिलेकाँहि घरमा सानो कुराले हुने गरेको झगडा समेत न्युनीकरण भएको छ । सानो काम गर्दा समेत पारिवारिक योजना अनुसार हुने गरेको छ” उनी भन्छन् ।

अहिले नियमित रुपमा मासिक खर्च कटाएर १० हजार बचत गर्दछन् । उक्त बचतलाई उत्पादन मुलक क्षेत्रमा लगाउने योजना बनएका छन् । अहिले उनलाई र उनको परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आएको छ । समाजको अन्य मध्यमवर्गको सरहको जीवन बिताइरहेको छन् उनी ।

भावी दिनमा निरन्तर रुपमा कृषिमा आवद्ध भई आधुनिक कृषिलाई अघि बढाउने सोच सुनाउँछन् । सरकारी तथा गैर सरकारी संस्थाको सहयोग पाए अझ व्यवसाय विस्तार गर्ने मनसाय छ । साथै यस्तै अरु थप तालिम अझै पाए अझै ज्ञानको दायरा बढ्ने थियो भन्ने लागेको छ ।